काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम नेपाली कांग्रेस, एमाले र जसपाले करिब करिब टुंगो लगाएको छ । ओलीले आज ११ बजे प्रधानमन्त्रीको शपथ लिँदैछन् । उनले प्रधानमन्त्रीको शपथ लिएपछि दुई जना उपप्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम छ । त्यसपछि मन्त्रीहरुलाई पनि शपथ गराइने छ ।
नेपाली कांग्रेसले मन्त्रीका लागि १० जनाको नाम टुंगो लगाएको छ । पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा कांग्रेस १० मन्त्रीसहित एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन लागेको हो ।
नेता सिंहले उपप्रधानसहित सहरी विकास मन्त्री मन्त्रालयको जिम्मेवारी बहन गर्नेछन् । त्यस्तै, कांग्रेसबाट रमेश लेखक गृह, आरजु राणा देउवा परराष्ट्र, अजय चौरसिया कानुन र दीपक खड्का ऊर्जामन्त्री बन्ने छन् । यस्तै बाँकी पाँच जनाको मन्त्रालय टुंगो लाग्न बाँकी छ ।
मन्त्रीमा भने रामनाथ अधिकारी, हृदयराम थानी, तेजुलाल चौधरी, प्रदीप पौडेल, ऐनबहादुर शाहीको नाम टुंगो लागेको छ ।
कांग्रेस उच्च स्रोतका अनुसार १० जनाको नाममाथि सभापति शेरबहादुर देउवाले फाइनल टच गर्ने भने बाँकी छ ।
गण्डकी र लुम्बिनीको प्रतिनिधित्व गराउन देउवाले अन्तिममा एक–दुई जनाको नाम हेरफेर गर्न सक्ने बताइएको छ ।
एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ । एमाले स्रोतका अनुसार एमालेले पाएका मन्त्रालयमध्ये उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले सम्हाल्नेछन् । पृथ्वीसुब्बा गुरुङलाई सरकारको प्रवक्ता तोक्ने गरी सरकारमा पठाउने एमालेको तयारी छ ।
स्रोतका अनुसार गुरुङ सञ्चार मन्त्रालय सम्हाल्दैछन् । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल भौतिकमन्त्री बन्दैछन् । त्यस्तै शिक्षा मन्त्री विद्या भट्टराई बन्दैछिन् भने रक्षा मन्त्रालय मानवीर राई बन्दैछन् । एमालेबाटै राजकुमार गुप्ता पनि मन्त्री बन्दैछन् । उद्योगमन्त्री दामोदर भण्डारी र भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी दोहोरिँदै छन् ।
उता, अशोक राई नेतृत्वको जनता साजवादी पार्टीले २ जना मन्त्रीको नाम टुंगोे लगाएको छ । सोमबार बिहान बसेको जसपाको बैठकले प्रदीप यादव र नवलकिशोर साह सुडीलाई मन्त्री बनाउने निर्णय गरेको हो । यादव खानेपानी र सुडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया