काठमाडौं । भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ बस्ने ३२ वर्षीय ङेमा लामा रहेका छन् । पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ बाट सोमबार पक्राउ गरेको हो ।
लामाले आफ्नो श्रीमती समेत कुवेतमा रहेकोले वर्किङ भिसामा क्लीनरको काममा लगाई दिने प्रलोभन देखाई पीडितबाट ९५ हजार रूपैयाँ लिई भिजिट भिसामा कुवेत पुर्याएर कुवेतको एयरपोर्टमा पीडितलाई लामाको श्रीमतीले रिसिभ गरी कुवेती नागरिकको घरमा १ हजार १ सय ५० कुवेती दिनारमा बेचबिखन गरेको र कुवेती नागरिकले पीडितलाई बन्धक बनाई घरेलु कामदारको रूपमा राखी पारिश्रमिक समेत नदिई यौन शोषण तथा चरम श्रम शोषण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
लामामाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया