महानगरलाई मजदुर संगठनहरुको आग्रह : टिकट काउन्टरहरु नहटाऊ

लोकपथ
546
Shares

काठमाडौं । काठमाडौं चक्रपथ आसपासका टिकट काउन्टर तत्काल नहटाउन काठमाडौं महानगरपालिकालाई तीनवटा यातायात मजदुर संगठनहरुले आग्रह गरेको छ ।

साउन १ गतेदेखि बसपार्क बाहेकका टिकट काउन्टर हटाइने भन्दै गोरखापत्रमा समाचार प्रकाशन र माइकिङ्ग गरेर आम सर्वसाधारण, यातायात मजदुर र यातायात व्यवसायीलाई महानगरले आतङ्कित बनाएको भन्दै त्यसो नगर्न महानगरलाई आग्रह गरेको हो ।

एकांकी र निरङ्कुश शैलीले समस्याको समाधान नहुँने भन्दै सरोकारवालाहरुसँगको छलफल र सहकार्यमा मात्रै अघि बढ्न महानगरलाई मजदुर नेताहरुको आग्रह छ ।

सोमबार तीनवटै संगठनहरुले संयुक्त विज्ञप्ती जारी गर्दै साउन १ गतेदेखि बसपार्क बाहिरका टिकट काउन्टर हटाइने निर्णयलाई रोक्दै महानगरको नेतृत्वमा बनेको कार्यदलको तत्काल बैठक राखेर समस्याको हल खोज्न महानगरलाई अपिल गर्दछौँ भनिएकोछ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसी र नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारीले हस्ताक्षर गरिएको विज्ञप्तीमा महानगरले कार्यदल गठन गरेर टिकट काउन्टरको मापदण्ड तयार गरिसकेकोछ र कार्यदलको सदस्यका रुपमा तीनवटै ट्रेड युनियनहरुको लामो मेहनत र सुझाव पछि टिकट काउन्टरको मापदण्ड तयार गरिसकिएकाले त्यसलाई व्यवहारिक परिमार्जन गरेर कार्यान्वयन गरिनुपर्ने र कार्यान्वयनका लागि संगठनहरु प्रतिवद्ध रहेको उल्लेख छ ।

महानगरको निरङ्कुश र शक्तिको प्रयोग गरेर ठिक लगाउँछु भन्ने दम्भले सडकमा द्धन्द्ध निम्त्याउने निश्चित भएको भन्दै संगठनको आग्रहलाई वेवास्ता गरि जवरजस्ती गरिए तीनवटै ट्रेड युनियनहरुको अगुवाईमा आन्दोलन हुने चेतावनी दिइएको छ ।

संवाद र संयमताले समस्याहरुको समाधान गर्छ दम्भ र उदण्डताले हानि गर्छ भन्दै संगठनहरु समस्या समाधानको पक्षमा रहेको विज्ञप्तीमा जनाइएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?