काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । आज सिंहदरबारस्थित मन्त्री सिंहको कार्यकक्षमा उक्त भेट भएको हो ।
भेटमा उनीहरुबिच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो । राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सहयोग अभिवृद्धिका निम्ति भारत सरकार तयार रहेको मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिएका छन् ।
उनले भने, ‘आजको भेट सहरी विकासमन्त्रीको सफल कार्यकालको लागि शुभकामनाको लागि थियो । भारत सरकारले नेपालको सहरी विकासमा के कस्तो सहयोग गर्न सक्ने सम्भावना छ । हामी सहयोग गर्न तयार छौ भन्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।’
उनले सिंह र राजदूत श्रीवास्तवबीच सहरी विकास, नदी प्रदूषण नियन्त्रण र फोहरमैला व्यवस्थापनमा भारतले गर्न सक्ने सहयोग बारेमा पनि छलफल भएको बताए ।उनले भने, ‘भारतले नेपाललाई सहयोग गर्न सक्ने राम्रो क्षेत्र भनेको फोहोरमैला व्यवस्थापन, नदीनालाहरुको प्रदूषणको नियन्त्रणलगायतका काममा सहकार्य गर्न सक्छौ भन्ने कुरा उहाँले राख्नु भएको छ ।’
यस्तै, छलफलमा भारतीय राजदूतावासबाट २० करोडसम्मको लागतको साना साना पूर्वाधारको निर्माण कार्य देशभर गर्नको लागि सहयोग गर्ने कुरा पनि भएको बताए ।
उनले भने, ‘भारतीय सहयोगमा पुनःनिर्माणका केही कामहरु भइरहेका छन् । त्यो बारेमा सामान्य समीक्षा भएको छ । भारतीय राजदूतावासबाट २० करोडसम्मको लागतको साना साना पूर्वाधारका काम गर्नलाई सहयोग प्राप्त हुन्छ । देशभर नै यो कार्यक्रम लागू गर्न सकिन्छ त्यसको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट नयाँ कार्यविधि पनि पास भएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया