लुतो फ्याँक्ने चलनसँग वैज्ञानिक र धार्मिक कारण जोडिन्छ : डा.रुद्रनाथ अधिकारी

लोकपथ
6.7k
Shares

काठमाडौं । प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) संक्रान्ति पर्व आज (मंगलबार) देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ ।

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेषरूपमा मनाइन्छ ।

अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद्धहरु बताउँछन् ।

परम्पराअनुसार काग भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।

लुतो फाल्दा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ ।

साउन महिनालाई विशेषरूपमा भगवान शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिन्छ ।

लुतो फ्याँक्ने चलन सिधा स्वास्थ्यसँग जोडिएको संस्कार भएको धर्मसंस्कृतिबारे जानकारहरु बताउँछन् । असार महिनामा हिलो र फोहोरमा हिँडडुल गर्दा लुतो लाग्ने गरेको र साउन १ गते लुतो फ्याँक्ने चलन सुरु भएको मानिन्छ । यो प्रचलन कहिले कसरी शुरु भयो यकिन गर्न नसकिएपनि खस साम्राज्यबाट शुरु भयो भन्ने अनुमान गरिन्छ ।

बरिष्ठ ज्योतिष एवम पण्डित डा.रुद्रनाथ अधिकारी लुतो फ्याँक्ने चलनसँग वैज्ञानिक कारण जोडिएको बताउँछन् । ‘लुतो फाल्ने भनेको साउन महिनामा पृथ्वी रजश्वला हुन्छिन् । गंगा रजश्वला हुन्छिन् । अर्काे कुरा साउन महिनामा दुध खानु हुन्न । बैज्ञानिकहरूले पनि अघिपछिको महिना र साउन महिनाको दुधमा विषाक्त हुन्छ भनेर छुट्याएको छ । सकेसम्म साउन महिनामा दुध पनि ग्रहण नगर्नु भनिन्छ । गाईले विभिन्न प्रकारका विशाक्त पानी पिएको हुन्छ त्यहीँ भएर साउनमा दुध पिउन उचित हुँदैन । भगवान शिवले किराँत स्वरूपको रूप धारण गरेर पृथ्वीमा भगवती, गौरी, पार्वतीसँग विचरण गरेर भक्तहरूका ढोकाढोकामा पुगेर सुखदुःख अनुभुत गरेर प्रत्यक्ष रूपमा भगवान शिव साउन महिनामा अवतरित भएका हुन् । त्यसैले यो महिनालाई लुतो फाल्ने महिना पनि भनिन्छ,’डा अधिकारीले भने ।

‘असारमा विभिन्न प्रकारका किटपतिङ्गरबाट संक्रमण हुन्छ र छालामा विशेष प्रकारको घाउँहरू हुन्छन् । त्यसैले साउनमा राक्षसको मूर्ति बनाएर नयाँ फल अर्पण गरेर १६ प्रकारका जडिबुटीहरू मूर्तिमा चढाएर चारै दिशामा जल फालेर परिवारलाई केही नहोस् भनेर यो पर्व मनाइने गरिन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?