महेन्द्रनगर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्युु भएको छ । सदरमुकाम महेन्द्रनगर बजारको सिंचाई कार्यालय नजिक र दोधारा चाँदनीमा गरी छुट्टाछट्टैै दुर्घटनामा परी एक भारतीय नागरिक र एक नेपालीको मृत्यु भएको हो ।
मंगलबार मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार यूके०३ए ९०३४ नम्बरको मोटरसाइकलमा सवार चम्पावत मिना बजार बनबासाका अन्दाजी ३० वर्षीया चाँप पुरैसीको पूर्व पश्चिम महेन्द्र राजमार्गमा पर्ने महेन्द्रनगर गड्डाचौकी सडक खण्डको सिंचाई कार्यालय क्षेत्रमा छाडा पशु चौपायासँग ठोक्किएर घाइते भएको र उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले बताए ।
यस्तै सोही दिन दोधारा चाँदनी नगरपालिका–४ चाँदनीमा यूके ०६ बिएच ४८७५ नम्बरको मोटरसाइकलमा सवार दुईमध्ये एक जनाको मृत्युु भएको छ ।
मृत्यु हुनेमा दोधारा चाँदनी नगरपालिका–४ कञ्जभोज बस्ने अन्दाजी २५ वर्षीया सुरज सुनार रहेका छन् । सोही ठाउँका अन्दाजी ४५ वर्षीय गोपाल सुनार घाइते भएका छन् । उनको अहिले उपचार भइरहेको कञ्चनपुर प्रहरी प्रबक्ता जोशीले बताए ।
उनका अनुसार सुरजको दोधारा चाँदनी अस्पतालमा मृत्यु भएको र अर्का घाइतेको महाकाली अस्पतालमा उपचार भइरहेको छ । उनीहरू सवार मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया