काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले देशको विकासका लागि महिलाहरूको भूमिका अहम रहेको बताएका छन् ।
बुधवार नेपाल महिला सङ्घको केन्द्रीय कार्यालयको निर्माण गरिने नयाँ भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री समेत रहेका महतले देशमा महिलाको सङ्ख्या पुरुषको तुलनामा धेरै रहेको भन्दै देशको विकासका लागि महिलाको भूमिका महत्त्वपूर्ण भएको बताए ।
यस्तै, उनले महिलाहरूलाई राष्ट्रिय राजनीतिमा जोड्ने सवालमा महिला सङ्घ कडी भएको पनि बताए । उनले भने, ‘देशमा पुरुषको तुलनामा महिलाको उपस्थिति बलियो छ । पुरुष दाजुभाइहरू कामको सिलसिलामा विदेशमा छन् । यस कारण देश विकासका लागि महिलाहरूको भूमिका अहम छ । महिलाहरूलाई राष्ट्रिय राजनीतिमा जोड्ने कडीका रुपमा महिला सङ्घ रहेको छ । महिला सङ्घको भवनको विस्तार आजबाट थालनी भएको छ । अब यसै गरी महिला सङ्घको सङ्गठन विस्तार हुनेछ ।’
सङ्गठनका सबै सदस्य मिलेर महिला सङ्घको देशव्यापी सङ्गठन विस्तारमा लाग्नुपर्ने महतको भनाई थियो । उनले पार्टीको भातृ सङ्गठन महिला सङ्घको माध्यमबाट पार्टीमा ठुलो सङ्ख्यामा महिला राजनीतिज्ञ जोड्न सफल हुने भएका कारण सबैले यसका लागि आफ्नो आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह पनि गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया