अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण, चुनाव नलड्न बढ्यो दबाब

लोकपथ
1k
Shares
फाइल तस्बिर

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण भएको छ । अमेरिकी राष्ट्रपति चुनावको प्रचारप्रसार तीव्र भइरहेका बेला बाइडेनमा कोरोना संक्रमण पुष्टि भएको हो । डेमोक्रेटिक पार्टीभित्रै बाइडेनलाई राष्ट्रपतीय चुनावी दौडबाट पछि हट्न दबाब आइरहेका बेला उनीमथि कोरोना संक्रमण पुष्टि भएको हो । उनीमाथि राष्ट्रपति पदको दौडबाट पछि हटेर अर्कालाई मौका दिन डेमोक्र्याटिक पार्टीबाटै दिन प्रतिदिन दबाब बढ्दै गएको छ । अब बाइडेनलाई राष्ट्रपतिको चुनाव नलड्न झन् दबाब बढ्नसक्छ ।

अमेरिकी राष्ट्रपतिको आधिकारिक एक्स ह्यान्डलबाट पनि बाइडेनलाई कोरोना पुष्टि भएको जानकारी दिइएको छ ।
कोरोना संक्रमण भए पनि आफू ठीक रहेको बाइडेनले बताएका छन् । अहिले आइसोलेसनमा रहे पनि छिट्टै आफू काममा फर्किने उनले बताएका छन् । बुधबार मात्र उनी लस भेगासमा समर्थकहरूसँगको भेटघाटमा व्यस्त थिए । पछि उनले चुनावी सम्बोधन भने रद्ध गरेका थिए ।

ह्वाइट हाउसका प्रेस सचिव करिन जिन पियरीका अनुसार बाइडेनले कोभिड खोप र बुस्टर डोजसमेत लगाएका छन् । बाइडेनलाई यसअघि पनि दुई पटक कोरोना संक्रमण भएको थियो । बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारबाट पछि हट्न दबाब दिनेहरूको सूचीमा पछिल्लोपटक डेमोक्रेट फन्डरेजर तथा हलिउड व्यक्तित्व जर्ज क्लुनी पनि देखिएका छन् । उनले न्युयोर्क टाइम्समा लेख लेख्दै बाइडेनलाई राष्ट्रपति चुनावको दौडबाट बाहिरिन अपिल गरेका छन् ।

आफूले तीन हप्ताअघि एक फन्डरेजर कार्यक्रममा बाइडेनलाई भेटेको उल्लेख गर्दै उनले लेखेका छन्, ‘उनी २०१० को बाइडेनजस्तो लाग्दैनन्, २०२० को बाइडेनजस्तो पनि देखिएनन् ।’ क्लुनीले बाइडेनको उम्मेदवारीले डेमोक्र्याटहरूले यो चुनाव जित्न नसक्ने चेतावनी दिएका छन् ।

यसअघि सभामुख न्यान्सी पेलोसीले ८१ वर्षीय बाइडेनको उम्मेदवारीमा प्रश्न उठाएकी थिइन् । पूर्वसभामुख न्यान्सी पेलोसीले बाइडेनले चुनाव जित्न नसक्ने बताएकी थिइन् । पेलोसीले बाइडेनलाई चुनावी प्रक्षेपण हरुमा कमजोर देखिएको भन्दै निजी रुपमा यस्तो भनेको सीएनएनले उल्लेख गरेको छ ।

भर्मन्टका अमेरिकी सिनेटर पिटर वेल्सले पनि वासिङ्टन पोस्ट अखबारमा लेख लेखेर बाइडेनलाई ‘देशको हितमा उम्मेदवारी त्याग्न’ आग्रह गरेका थिए । यस्तै, गत जुन २७ मा ट्रम्पसँग भएको डिबेटमा बाइडेनको कमजोर प्रदर्शन भएको थियो । डिबेटपछि ट्रम्पको लोकप्रियता बढेको पाइएको थियो । डिबेटपछि जो बाइडेनलाई चुनावबाट बाहिरिन न्यू योर्क टाइम्स, डेमोक्रेटिक पार्टीका नेता तथा चन्दादाताले सार्वजनिक तथा निजी दुवै रुपमा बाइडेनलाई र उनको अभियानलाई आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?