हिंसात्मक प्रदर्शनपछि बंगलादेश छाड्दै नेपाली विद्यार्थी

प्रदर्शनमा २५ जनाको मृत्यु, सयौं घाइते, इन्टरनेट सेवा बन्द

लोकपथ
217
Shares

काठमाडौं । बंगलादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेको प्रदर्शन थप चर्किएपछि बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु विस्थापित हुन थालेका छन् । अध्ययनका लागि बंगलादेश पुगेका विद्यार्थीहरु प्रदर्शन हिंसात्मक हुन थालेपछि भारतीय चेकपेस्ट मेघालयबाट बाहिरिन थालेका हुन् ।

भारतीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार २०२ जना भारत प्रवेश गरेका छन् । भारत सरकारले विद्यार्थीको सुरक्षाको प्रबन्ध गरेको समाचारमा उल्लेख छ । बंगलादेशको सीमा पार गरेर भारत प्रवेश गर्नेमा नेपालका १ सय १ जना छन् । भुटानका ७, भारतका २३ र अन्य ४ जना पर्यटक भएको भारतीय प्रहरीले जनाएको छ । विश्वविद्यालयका विद्यार्थीहरूले गरेको प्रदर्शन देशव्यापी बन्दै जाँदा मृतक र घाइतेको संख्या पनि बढ्दै गएको छ ।

प्रधानमन्त्री शेख हसिनाले बुधबार राष्ट्रको नाममा सम्बोधन गरेपछि हिंसा थप भड्किएको बीबीसी हिन्दीले जनाएको छ । यो समाचार लेख्दासम्म बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरोध गर्दै सुरु भएको आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या २५ पुगेको छ । आन्दोलनमा सयौं घाइते भएका छन् । प्रदर्शनकारीहरुले राजधानी ढाकासहित कयौं स्थानमा आगजनी र तोडफोड गरेका छन् । ठाउँ–ठाउँमा प्रहरीसँग झडप भएको छ । हिंसा बढ्दै गएपछि इन्टरनेट सेवासमेत बन्द गरिएको छ । स्कुल कलेजहरु अनिश्चितकालीन बन्द छन् । बिहीबार साँझदेखि बंगलादेशका अधिकांश अनलाइन मिडियाहरूमा समाचारसमेत पोस्ट भएका छैनन् ।

साथै टेलिभिजन च्यानलहरू पनि सामाजिक सञ्जाल र युट्युबमा प्रत्यक्ष प्रसारणमा छैनन् । अधिकांश बंगलादेशी टेलिभिजन च्यानलहरूले युट्युबमा प्रत्यक्ष प्रसारण गर्छन् । बुधबार प्रधानमन्त्री शेख हसिनाले प्रदर्शनकारीलाई संयमित हुन आह्वान गरेकी थिइन् । उनले प्रदर्शनकारीको उचित माग सम्बोधन गर्ने आश्वासन दिँदै सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउनेहरुलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएकी थिइन् । उनले अदालती प्रक्रियाबाट सबैले न्याय पाउने बताएकी थिइन् । उनले सम्बोधन गरेको भोलिपल्ट नै आन्दोलन झन् चर्किएको छ । उनीहरुले विहीबार बंगलादेश बन्द आह्वान गरेका थिए । बिहीबार राति विभिन्न ठाउँमा हिंस्रक प्रदर्शन पनि भएको बीबीसीले जनाएको छ ।

किन चर्कियो प्रदर्शन ?

बंगलादेशको स्वतन्त्रता आन्दोलनमा सक्रिय व्यक्तिका छोराछोरीलाई सरकारी जागिरमा दिइएको आरक्षणको विरोधमा आन्दोलन सुरु भएको हो । ‘मुक्ति बाहिनी’ को स्वतन्त्रता संग्रामपछि बंगलादेश सन् १९७१ मा पाकिस्तानबाट अलग भएको थियो । उक्त आरक्षण प्रणालीविरुद्ध केही दिनदेखि विश्वविद्यालयका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । सुरुवाती चरणमा उनीहरुले ठाउँठाउँमा ¥याली गरेका थिए । आरक्षणको विरोधमा उत्रिएका विद्यार्थीमाथि प्रहरी र सत्तारूढ अवामी लिगको भ्रातृ संगठन बंगलादेश छात्र लिग (बीसीएल) जाइलागेपछि देशका विभिन्न ठाउँमा हिंसात्मक झडप हुन थालेको हो ।

छात्र लिग सरकारको योजनाको पक्षमा छ भने अन्य विद्यार्थी आरक्षणले विशेष व्यक्तिलाई मात्र लाभ पुग्ने भन्दै विरोधमा उत्रिएका हुन् । आरक्षणविरोधी विद्यार्थी र बीसीएलका सदस्यबीचको झडप अश्रुग्यास र रबरका गोली प्रहारसम्म पुगेको छ । बंगलादेशमा केही सरकारी पदमा महिला, जातीय अल्पसंख्यक र शारीरिक रूपमा अपांगता भएका व्यक्तिका लागि पनि आरक्षणको व्यवस्था छ । एकतिहाइ पदहरू भने ‘युद्धको समयका नायक’ वर्गीकृत गरिएका मानिसका सन्तानका लागि छुट्याइने गरेको छ । आन्दोलनमा उत्रिएका विद्यार्थी उक्त व्यवस्था भेदभावपूर्ण भएको बताउँदै सरकारी जागिरमा योग्यताका आधारमा पदपूर्ति हुनुपर्ने पक्षमा छन् ।

हिंसात्मक घटना बढ्दै गएपछि ढाकास्थित नेपाली राजदूतावासले बुधबार एक सूचना जारी गर्दै नेपाली विद्यार्थीहरुलाई अत्यावश्यक काम बाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको थियो । सूचनामा भनिएको थियो, ‘बंगलादेशमा जारी कोटा विरोधी प्रदर्शनहरुमा भएका झडपका कारण बंगलादेश सरकारको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा नीजि विश्वविद्यालय र शैक्षिक संस्थाहरु अर्को सूचना जारी नभए सम्मका लागि बन्द रहने भनी गरेको निर्णयको सन्दर्भमा बंगलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरुलाई सुरक्षित रहन, अत्यावश्यक काम बाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्नुहुन अनुरोध गरिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?