काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणधीन संघीय संसद् भवनको कामबारे सम्बन्धित पक्षसँग छलफल गरेका छन् ।
शुक्रबार बिहान सभामुख घिमिरेले उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, मन्त्रालयका सचिव सचिव, भवनका महानिर्देशक र संसद् भवन निर्माण आयोजना प्रमुखसहितका उच्च अधिकारीलाई बोलाएर छलफल गरेका हुन् ।
सो छलफलमा सभामुख घिमिरेले भवन निर्माणमा भइरहेको ढिलासुस्तीबारे गम्भीर चासो राखेका थिए ।
त्यसो त यसअघि पनि पटकपटक सभामुख घिमिरेले संसद् भवन निर्माणस्थलको अवलोकन गरेर काममा भइरहेको ढिलासुस्तीबारे सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका थिए ।
गत साउन २ गते अपरान्ह ४ बजे पूर्वजानकारी बिना आकस्मिक रुपमा सभामुख निर्माणाधिन संसद् भवन पुगेका थिए । तर त्यहाँ कामदारको संख्या न्यून रहेको थियो ।
पाँचौ पटक संसद भवनको निरीक्षण गर्न पुगेका सभामुखले निर्माण प्रगतिबारे सन्तुष्ट हुन नसकिएको प्रतिक्रिया दिएका थिए। तीन सिफ्टमा काम गर्ने भनिएको डेढ वर्ष पुग्दा पनि एक सिफ्टमै काम भइरहेको पाइएको सभामुखको सचिवालयले जनाएको छ । साथै ८२ प्रतिशत निर्माण प्रगति भनिए पनि संरचनाले त्यस्तो पुष्टि गर्न नसकेको र कोभिडका कारण निर्माण समयमा पूरा गर्न नसकिएको बताउने निर्माण पक्ष र हाम्रो सरकारी संयन्त्र पछिल्ला २ वर्ष पनि उही कारण देखाउने अवस्थामा रहेको सभामुखको सचिवालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया