काठमाडौं । काठमाडौं महानगरपालिकाले स्रोतमै फोहोरको वर्गीकरण गरेर व्यवस्थापन गर्न सबैलाई आग्रह गरेको छ ।
उत्पादन भएका सबै प्रकारका फोहर अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा पुर्याउँदा उक्त स्थानको आयु घट्ने भन्दै कामपाले स्रोतमै फोहोरको वर्गीकरण गर्ने र कुहिने फोहोर मात्र उक्त स्थानमा लानुपर्ने जनाएको हो ।
कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले भने, “काठमाडौं उपत्यकाको १८ स्थानीय तहमा उत्पादित सबै फोहोर अन्तिम व्यवस्थापन स्थानमा लैजाने हो भने यसको अवधि १५ वर्षमै सकिने अनुमान गर्न सकिन्छ । त्यसैले यसको प्रयोग लामो समयसम्म गर्नका लागि वर्गीकरण गरिएको फोहोर मात्र लानुपर्छ ।”
स्रोतमै फोहोर वर्गीकरण गर्ने अभ्यास कामपाको ३२ वडा मध्ये केही वडामा सुरु भइसकेको छ । साथै कामनपाले अन्य वडामा पनि थालनी गर्न आग्रह गरिसकेको छ । काठमाडौं उपत्यकाबाट हरेक दिन एक हजार दुई सय मेट्रिक टन फोहोर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ ।
विसं २०६८ मा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा कामपाले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम ऐनमा फोहरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ ।
“भान्छामा कुहिने र नकुहिने गरी दुई खालका फोहोर निस्कन्छन् । कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाँडामा राख्नु वर्गीकरण हो । नकुहिने फोहोर उत्पादक आँफैले बेच्न सक्छन् । कुहिने फोहोर आफैँले पनि मल बनाउन सकिन्छ”, विभागका प्रमुख श्रेष्ठले भने ।
तरकारी, बढी भएको खानेकुरा, माछा मासु, अण्डा, चियाको छोक्रा, फलफूलका बोक्रा, खानेकुरा केलाउँदा आएको वस्तु, रुखका पातलगायत कुहिने फोहोर हुन् । त्यस्तै प्लाष्टिक, सिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सेनेटरी प्याड, डाइपर, विषादीको खाली बोटल, नकुहिने फोहोर हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया