काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारागणगढ–मुग्लिन सडकको सिमलतामा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस र यात्रुहरुको खोजीमा भारतीय टोली जुटेको छ ।
आइतबार बिहानबाट भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को १२ सदस्यीय टोली खोजतलासमा जुटेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
गत असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस र काठमाडौंबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–२४९५ख ००१ नम्बरको बस सिमलताल पहिरोमा परी बेपत्ता भएका थिए ।
दुवै बसमा गरी ६५ यात्रु सवार रहेका थिए । तर हालसम्म उनीहरुमध्ये २५ जनाको मात्रै शव फेला परेको छ । सवार यात्रुमध्ये ३ जना भने बाच्न सफल भएका छन् ।
हालसम्म भेटिएकामध्ये १७ जनाको सनाखत भएको छ । अझै ३७ यात्री र दुईवटै बसको अवस्था अज्ञात छ ।
हालसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरको टोली परिचालन गरेर खोजी भएको थियो । तर अत्याधुनिक उपकरण नभएका कारण खोजतलासमा समस्या भएपछि उद्धार टोलीलाई भारतबाट बोलाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया