बागमतीमा लामा नै मुख्यमन्त्री बन्ने

लोकपथ
721
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामालाई नै अगाडि बढाउने भएको छ । आइतबार बसेको संसदीय दलको बैठकले दलका नेता लामालाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेको हो ।

नेपाली कांग्रेसको प्रदेशसभा संसदीय दलको विधानअनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री हुने व्यवस्था छ । प्रदेशसभा संसदीय दलको विधानको दफा ६ को उपदफा १० मा पार्टीले प्रदेश सरकार गठन गरेको अवस्थामा नेताले नै नेतृत्व गर्ने भन्ने छ ।

कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा नुवाकोटका लामा भएपनि कांग्रेस बागमती प्रदेश सभापति मकवानपुरका ईन्द्रबहादुर बानियाँले पनि दाबी नछाडेपछि मुख्यमन्त्री को बन्ने भन्ने संशय थियो । त्यसो त लामाअघि बानियाँ संसदीय दलका नेता थिए । बानियाँलाई हराउँदै लामा संसदीय दलको नेता बन्न सफल भएका थिए ।

पछिल्लो समय संसदीय दलका नेता लामाको प्रस्तुति कमजोर हुँदै गएको र संसदीय दलको भूमिका सशक्त बन्न नसकेको पार्टीभित्र गुनासो रहँदै आएको थियो । जसका कारण दलको नेता परिवर्तनको चर्चासमेत चलेको थियो ।

संघमा कांग्रेस र एमालेको गठबन्धन भएसँगै बागमतीमा पनि सरकार परिवर्तन हुन लागेको हो । बागमतीमा पहिलो पटक कांग्रेस नेतृत्वमा सरकार गठन हुन लागेको हो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन् । तर उनले विश्वासको मत नपाउने निश्चित छ ।

बागमतीमा कांग्रेस र एमालेको सहज बहुमत पुग्ने अवस्था रहेको छ । ११० सदस्यीय प्रदेशसभामा कांग्रेसको ३७ र एमालेको २७ सासंद रहेका छन् । बहुमतका लागि ५६ मतको आवश्यकता रहेको छ ।

त्यसो त जम्कट्टेलले राजीनामा दिने सम्भावना पनि छ । राजीनामा दिएपनि, विश्वासको मतमा गएपनि आजै माओवादी नेतृत्वको सरकार बहिर्गमन हुँदैछ । कांग्रेस र एमाले दुबै दलको तर्फबाट आजै लामाले सरकार गठनको लागि दाबी गर्ने भएका छन् ।
प्रदेश स्थापनाको ७ वर्षपछि कांग्रेसको नेतृत्व

प्रदेश स्थापनाको ७ वर्षपछि नेपाली काँग्रेसले सरकारको नेतृत्व गर्दैछ । उक्त अवधिमा अधिकांश समय प्रमुख प्रतिपक्ष रहेको कांग्रेस विगतमा ३ वर्ष सत्ता साझेदार बनेको थियो । २०७८ कात्तिकमा सत्ता साझेदारी गर्दै कांग्रेस सरकारमा सहभागी भएको थियो । संघीयता कार्यान्वयनको ७ वर्षको अवधिमा कांग्रेस एमाले गठबन्धनले बागमतीमा काँग्रेसको सरकार गठन जुराएको हो ।

२०७८ मा कांग्रेससहितको समीकरणबाट एकीकृत समाजवादी पार्टीका राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेश सरकारको नेतृत्व सम्हालेका थिए । उक्त समय मुख्यमन्त्री त्यागेर निर्वाचनको तयारीमा लागेको कांग्रेसले २०७९ पुसमा गठित सरकारमा पनि स्थान पाउन सकेन । २ महिना प्रतिपक्षमा रहेको कांग्रेस चैतमा मात्र सरकारमा सामेल भएको थियो ।

एमाले, माओवादी केन्द्र र राप्रपाको गठबन्धन सरकार २ महिनामा ढलेपछि २०७९ चैतमा सरकारमा कांग्रेस सहभागी भएको थियो । सो समयमा पनि मुख्यमन्त्रीको सशक्त दाबी गरेको कांग्रेसले माओवादी केन्द्रलाई सरकारको नेतृत्व दिएको थियो ।
एक वर्षपछि २०८० फागुनमा फेरि एमाले माओवादीसहितको समीकरण भत्किएलगत्तै सरकारबाट कांग्रेस बाहिरियो ।

माओवादी केन्द्रकै नेतृत्वमा एमाले, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच सत्ता साझेदारी हुँदा कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा रहेको थियो । कांग्रेस विगत ४ महिनादेखि प्रमुख प्रतिपक्षको भूमिकामा रहँदै आएको छ । संघीयता कार्यान्वयनपछि भएका २ वटा निर्वाचनपश्चात्का अधिकांश समय कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामै रहँदै आएको छ ।

२ कार्यकालको ७ वर्षे अवधिमा कांग्रेस २६ महिनामात्र सरकारमा रह्यो । सो बाहेकका अधिकांश समय प्रतिपक्षमा रहेर भूमिका निर्वाह गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?