बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका लामाले दाबी पेस गर्दै

लोकपथ
343
Shares

बागमती । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आज सोमबार दाबी पेस गर्ने भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठन गर्न आह्वान गरेसँगै प्रदेशको दोस्रो ठूलो दल एमालेको समर्थनमा लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् ।

प्रदेश प्रमुख शर्माले आइतबार नै संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि दलहरूलाई यही साउन ८ गते साँझ ५ बजेसम्मको समय दिएर दाबी पेस गर्न आह्वान गरेका थिए । बाग्मतीमा कांग्रेस र एमालेको सहज बहुमत पुग्छ । ११० सदस्यीय प्रदेशसभामा कांग्रेसको ३७ र एमालेको २७ सांसद छन् । बहुमतका लागि ५६ मतको आवश्यकता पर्छ ।
‘दुई दलबीच पहिला नै मुख्यमन्त्रीमा कांग्रेसले दाबी पेस गर्ने सहमति भइसकेको छ,’ नेता लामाले भने, ‘नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु भइसकेकाले आज बहुमत प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेस गर्छु ।’

नयाँ राजनीतिक समीकरणअनुसार नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने भन्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख शर्मालाई आइतबार राजीनामा पत्र बुझाएका थिए । प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै अर्को सरकार गठन नहुञ्जेलसम्म उनलाई कामचलाउ मुख्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?