रविप्रति विनोद चौधरीको आक्रोश : संसद् कुण्ठा पोखेर स्टन्ट गर्ने थलो होइन

लोकपथ
203
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले राष्ट्रिय सभापति रवि लामिछानेलाई आफ्नाबारेमा भ्रम नछर्न आग्रह गरेका छन् ।

आइतबार पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले चौधरी प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटमा गएको विषयमा कटाक्ष गरेका थिए । संगीत दिवसमा बालकोटमा पुगेका चौधरीले ओलीसँग साँठगाँठ गरेको र बाँसबारी जग्गा प्रकरणबारे आफूहरु तर्सिएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

चौधरीले सोमबार सामाजिक सञ्जालमा लेख्दै लामिछानेको विगतदेखि वर्तमानसम्म विवादित भएको भन्दै आफूमाथि कुण्ठा पालेर स्टन्टको राजनीति गरेको आरोप लगाए ।

‘विवादित विगत र वर्तमान भएको र अहिले पनि राज्यको छानविनको घेरामा रहेको व्यक्तिले जसरी हिजो संसदजस्तो गरिमामय थलोमा कुण्ठा पोखे, ती स्टन्टको राजनीतिबाहेक अरु केही होइन,’ उनले भनेका छन् ।

त्यस्तै रवि गृहमन्त्री रहँदा पदको दुरुपयोग गरी आफूमाथि प्रतिसोध साँधेको समेत आरोप लगाए ।

चौधरीले सामाजिक सञ्जालमा लेखेका छन् :

प्रतिनिधिसभाको बैठकमा एक जना माननीयले मप्रति लक्षित गरेर जनतालाई दिग्भ्रमित पार्ने नियतले तथ्यहीन, अत्यन्तै नियोजित र कुण्ठापुर्ण अभिव्यक्ती दिएका छन्। जसकाप्रति मेरो घोर आपत्ती छ। विवादित विगत र वर्तमान भएको र अहिले पनि राज्यको छानविनको घेरामा रहेको व्यक्तिले जसरी हिजो संसदजस्तो गरिमामय थलोमा कुण्ठा पोखे, ती स्टन्टको राजनीतिबाहेक अरु केही होइन । विगतमा सत्ताको चरम दुरुपयोग गरेर प्रहरी प्रशासनलाई चर्को दवाव दिएर ममाथि जुन प्रतिसोध साध्न खोजिएको थियो, हिजोको उनको अभिव्यक्ति त्यही स्टन्टको मानसिकताको निरन्तरता मात्रै हो । अन्तराष्ट्रिय संगीत दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँको निवास बालकोटमा भएको कार्यक्रमलाई असान्दर्भिक रुपमा जसरी राजनीतिकरण गर्ने दुष्प्रयास गरिएको छ, त्यो अत्यन्तै निन्दनीय छ। संसद्को रोष्टमलाई कसैको कुण्ठा व्यक्त गर्ने र गलत नियतले अरुमाथि प्रहार गर्ने थलो नबनाउन पनि आग्रह गर्दछु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?