काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व अर्थमन्त्री एवं माओवादी सांसद वर्षमान पुनबीच संसद्मा सवालजवाफ भएको छ ।
आज बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रधानमन्त्रीको प्रश्नोत्तर चलिरहेको थियो । प्रधानमन्त्री ओलीले जवाफ दिने क्रममा वर्षमानले आपत्ति जनाए ।
त्यसअघि आइतबार बोलेका माओवादी सांसद लेखनाथ दाहालले उद्योगहरुमा विद्युत् लाइन जोड्न विद्युत् प्राधिकरणलाई दिएको निर्देशनबारे प्रश्न उठाएका थिए ।
आफूमाथि लगाएको आरोपबारे प्रधानमन्त्री ओलीले आपत्ति जनाउँदै जवाफ दिइरहेका थिए । सो क्रममा उठेर वर्षमानले प्रधानमन्त्रीले विषयान्तर गरेको आरोप लगाए । ओलीले संसद्मा बोल्दा मर्यादा कायम राखेर बोल्न आग्रह गरेका थिए ।
‘यो गरिमामया सदन सदन जस्तै होस् । हामीले सदनको मर्यादा, गरिमा, यहाँ भएका छलफल, यहाँ उठाइएका विषय, उहाँ उठेका प्रश्न, यति हल्काफुल्का, झुठा, पूर्वाग्रहीपूर्ण हुनु हुँदैन कि सुन भनेर पित्तल चढायो भन्ने जस्ता हावादारी कुरा यस गरिमामय संसद्मा नबोलियोस् । नगरियोस् । यति हल्काफुल्का बनाउनु हुँदैन हामीले गरिमामय संसद्लाई,’ ओलीले भने ।
त्यस्तै उनले प्रधानमन्त्रीले सभामुखले रुलिङ गर्नुपर्ने माग गरे ।
‘सम्माननीय प्रधानमन्त्रीज्यू कुन सन्दर्भमा अहिले बोल्दै हुनुहुन्छ ? यो कहीँ न कहीँ सभामुखज्यूले रुलिङ गर्नुपर्छ होला । प्रश्नोत्तरमा हुनुहुन्छ,’ पुनले भने ।
त्यही बीचमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री ओलीलाई अघि बढ्न आग्रह गरे । प्रधानमन्त्री ओलीले आफूले विषयकेन्द्रीत रहेर नै बोलिरहेको दाबी गरे ।
‘सभामुख महोदय, म विल्कुल विषय केन्द्रित छु । विल्कुल विषय केन्द्रित छु । संसदमा उठेका प्रश्नको लिखितको जवाफ दिनुपर्ने, त्योभन्दा अगाडि अलिखित नै बीचमा बाटैमा आइपुग्यो । त्यसकारण यसो नगरौँ भन्नेमात्रै मेरो आग्रह हो । यसो नगरौँ । मैले गाली गलौज कसैलाई गरेको छैन । मैले खाली सचेत गराएको हुँ । आवेश उत्तेजनामा आउनुपर्ने कुनै आवश्यकता छैन,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया