सर्लाही । सर्लाही प्रहरीले पूर्वराज्यमन्त्री रामचन्द्र रायको ह*त्या भएको घटनास्थल नजिकैबाट घरेलु हतियार बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार घटनास्थलबाट ५० मिटर उत्तर–पश्चिम बाँसको झाङबाट घरेलु हतियार ‘फरसा’ बरामद भएको हो । रगत लत्पतिएको अवस्थामा फेला परेको उक्त हतियार पूर्वराज्यमन्त्री रायको हत्यामा प्रयोग भएको हुन सक्ने प्रहरीको आशङ्का छ ।
घटनामा संलग्नहरूको पहिचान हुन बाँकी रहेकाले फेला परेको हतियारका विषयमा अनुसन्धान भइरहको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए । `फरसा भन्ने घरेलु हतियार घटनास्थल नजिकैबाट फेला परेको छ”, उनले भने, “यस विषयमा अनुसन्धान गरिरहेका छौँ । सोही हतियार घटनामा प्रयोग भएको आशङ्का छ ।´
मलङ्गवा नगरपालिका–४, पुख्र्यौली घर भएका ८० वर्षका पूर्वराज्यमन्त्री रामचन्द्र रायको चन्द्रनगर गाउँपालिका–१ स्थित खेतसँगैको घर (फार्म हाउस) मा गएराति धारिलो हतियार प्रहारगरी हत्या भएको थियो । उनको शव सुतेकै ओछ्यानमा फेला परेको थियो ।
रायसँगै सहयोगीका रूपमा बसेका युवकको बयानअनुसार हत्या भएको राति रायलाई भेट्न तीन जना अपरिचित व्यक्ति उहाँ बसेकै स्थानमा आएका थिए । उनीहरूले रायसँग जग्गाको विवाद मिलाइदिन भनेको खुलेको छ । रायले आफू सुत्ने कोठामै सुताएका उनीहरू परिचित रहेको प्रहरीको आशङ्का छ । घटनालगत्तै प्रहरीले तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान शुरु गरेको थियो ।
राय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ३० वर्षअघि भूमि व्यवस्था राज्यमन्त्रीमा नियुक्त भएका थिए। उनको दुई छोरा र पाँच छोरी रहेका छन् । परिवारसँगै काठमाडौं बस्दै आएका उनी केही दिन पहिला मात्र धान रोपाइँ गर्न सर्लाही आएको परिवारले जनाएको छ ।
रायको चन्द्रनगर गाउँपालिका–१, मा ठूलो क्षेत्रफलमा खेती रहेका कारण बेलाबेला उनी खेत हेर्न आउने जाने गरेको स्थानीयले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाही र मधेश प्रदेश प्रहरी कार्यालयको टोली अहिले पनि सुक्ष्म अनुसन्धानमा जुटिरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । रायको शव प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया