गत आवमा वैदेशिक रोजगारीमा कुन जिल्लाबाट कति गए ?

धनुषाबाट सबैभन्दा बढी जाँदा मनाङबाट कम

लोकपथ
966
Shares
फाइल तस्बिर

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीमा धेरै जाने जिल्लाको पहिलो सूचीमा धनुषा र दोस्रोमा झापा परेको छ । त्यस्तै सबैभन्दा कम मनाङबाट गएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा धनुषाबाट ३९ हजार १०७ जना र झापाबाट ३४ हजार ३६२ जना वैदेशिक रोजगारीमा गएका छन् ।

धनुषा र झापापछि वैदेशिक रोजगारीमा मोरङ, सिराहा, महोत्तरी, सुनसरी, रुपन्देही, सर्लाही र सप्तरीका बढी गएका छन् । मोरङबाट ३१ हजार ९७ जना जाँदा सिराहबाट ३० हजार ९३०, महोत्तरीबाट २७ हजार ३५०, सुनसरीबाट २३ हजार ९४९, रुपन्देहीबाट २३ हजार ६०६, सर्लाहीबाट २१ हजार २४३ र सप्तरीमा २० हजार ४६० जना वैदेशिक रोजगारीमा गएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार यो नयाँ र पुरानो श्रम स्वीकृति लिने दुवैको संख्या हो । यी जिल्लाहरुबाट रोजगारीका लागि सबैभन्दा धेरै यूएई, साउदी, मलेशिया गएका छन् ।

वैदेशिक रोजगारीमा सबैभन्दा कम जाने जिल्लाको पहिलो सूचीमा मनाङ पर्दा त्यहाँबाट जम्मा १७९ जना मात्र गएका छन् । यस्तै, मुस्ताङबाट २५९, मुगुबाट ५३७, हुम्लाबाट ५६१ र डोल्पाबाट ५१२ वैदेशिक रोजगारीमा गएका छन् । गत आर्थिक वर्ष ०८०/०८१ मा ७ लाख ४१ हजार नेपाली विदेश गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?