पोखरा । सौर्य एयरको जहाज नियमित मर्मतका लागि पोखरा आउन लागेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ह्याङ्गरमा एक महिनासम्म राखेर बुधबार (२४ जुलाई) देखि नियमित मर्मतको तयारी थियो ।
त्यसका लागि प्राविधिक र कर्मचारीसहितको टोली लिएर जहाज पोखरा उडेको एयरलाइन्सले जनाएको छ । तर, बुधबार बिहान ११ बजेर ११ मा जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु हुनुको साथै क्याप्टेन घाइते भए ।
विमानस्थलका सूचना अधिकारी जशोदा रेग्मीका अनुसार जहाजको प्राविधिक परीक्षणका लागि ह्याङ्गरमा राख्ने गरिन्छ । सी–चेक (मर्मतको एक प्रकार) का लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ह्याङ्गर सुविधा उपलब्ध छ । यहाँ ३ वटासम्म जहाज राखेर मर्मत गर्न सकिन्छ । जहाजको डेढदेखि २ वर्षमा गर्नुपर्ने नियमित मर्मत गर्नुपर्छ । काठमाडौंमा भएको ह्याङगर बुद्धको निजी हो ।
पोखरा विमानस्थलका प्रबन्धक योगेन्द्र कुँवरका अनुसार पोखरामा यसअघि यति एयरलाइन्सको एक जहाज मर्मतका लागि राखिएको छ । पोखराजस्तै नेपालगञ्जमा पनि नागरिक उड्ययन प्राधिकरणको ह्याङगर छ ।
तर त्यहाँ टाढा पर्ने तथा महँगो पनि पर्ने भएकोले सबैले पोखरा रोज्छन् । मर्मतका लागि धेरै जनशक्ति चाहिने भएकोले सौर्यले जनशक्ति बोकेर आउन लागेको थियो । विमानको सिट पूरै खोल्नुपर्ने, पार्ट खोल्ने र जोड्ने कार्य गर्न जनशक्ति चाहिन्छ ।
जहाजको मर्मतमा एदेखि डीसम्म गरी ४ प्रकृतिका मर्मत हुन्छन् । वायर, प्रणाली र संरचनाको मिहिन निरीक्षण गरेर बिग्रेको भए मर्मत गर्ने र आवश्यक परे नयाँ फेर्ने काम यो खालको मर्मतमा हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया