त्रिशूलीमा हराएको बसको खोजी रोक्ने तयारी, भारतीय टोली आज फर्कंदै

लोकपथ
3.5k
Shares
फाइल तस्बिर : सिमलताल बस दुर्घटनामा बेपत्ताहरुको शव खोज्दै

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट त्रिशूलीमा बेपत्ता भएका दुई ओटा बस र यात्रुको खोजी कार्य रोक्नका लागि सम्बन्धित निकायमा छलफलले तिब्रता पाएको छ । दुर्घटना भएको आइतबार १७ दिन पुगिसक्दा पनि आशातित सफलता प्राप्त हुन नसकेपछि खोजी कार्य नै रोक्ने गरी भएको छलफलले तिब्रता पाएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आफूहरुको प्रयासले बस भेटिने कुनै सम्भावना नरहेको जानकारी माथिल्लो निकायमा गराइसकेको बताए । ‘घटनास्थल र त्यसभन्दा तल ३० किलोमिटरसम्म निरन्तर खोजी गर्दा पनि बस भेटिने सम्भावना निकै कम रहेको निश्कर्षमा हामी पुगेका छौं, खोजी गर्न पनि समस्या भएको रिपोर्टिङ माथिल्लो निकायमा गरिसकेको छौं, अहिलेको समग्र अवस्थाको बारेमा जानकारी गराएका छौं,’ उनले भने ।

गत असार २८ गते शुक्रबार बिहान साढे तीन बजेतिर काठमाडौंबाट गौर जाँँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल नामको यात्रुबस नारायणगढदेखि करिब २३ किलो मिटरपूर्व उत्तर सिमलताल सिँदुरेगैरामा झरेको लेदोसहितको पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएको थियो । दुबै बसमा रहेका कुल ६५ यात्रुमध्ये ३ जना हामफालेर बाँच्न सफल भएका थिए । खोजीका क्रममा खोजी टोलीले घटनास्थलदेखि लगभग १०३ किलोमिटर तल नारायणी नदी तट र त्रिवेणी बाँध क्षेत्रबाट २५ वटा शव फेला पारेकोमा तीमध्ये १९ शव मात्रै पहिरोमा परेको बसका यात्रुको भएको पुष्टि भएको छ । जसमध्ये चार वटा शवको सनाखत हुन सकेको छैन । अन्य यात्रु बेपत्ता छन् ।

दुर्घटनामा परेका यात्रुका परिवारजनले आफ्नो परम्पराअनुसार दाहसंस्कार पनि गरिसकेका छन् । उनीहरुले १३ औं दिनको काजकिरिया गरिसक्दा पनि सुरक्षा निकायले शवको खोजीकार्यलाई जारी राख्दै आएका छन् ।
विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौली र स्थानीय प्रहरीले खोजीकार्य गरिरहेकोमा पछिल्लो समयमा भने भारतबाट आएको राष्ट्रिय विपद् रेस्पोन्स फोर्सको टोलीले पनि सम्भव भएका सबै प्रविधि र उपाय लगाएर खोजी गरेको थियो । उनीहरुलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले पनि साथ दिएका थिए । यद्यपि, कुनै प्रगति हुन नसकेपछि भारतबाट आएको उद्धार टोली आज आइतबार भारत फर्कने तयारीमा छ ।

हराएका बसको खोजीका लागि गत साउन ४ गते १२ जना भारतीयकोे खोजी तथा उद्दार टोली आएको थियो । भारतको ‘राष्ट्रिय आपदा मोचन बल’ ९एनडीआरएफ०का प्राविधिकहरू प्रविधिसहित एक हप्ताका लागि खोजीमा आएका थिए । भारतीय टोलीले सम्भव भएका सबै प्रविधि र उपाय लगाएर खोजी गरेको थियो ।

भारतीय टोलीले पानीभित्र रहेका वस्तुहरूको आकार र आकृति संकेत गर्ने उपकरण सोनारसहित खोजी गरेको थियो । नेपाली टोलीले पनि गोताखोर र सोनार तथा पानीभित्रका वस्तु हेर्न मिल्ने क्यामेरासहित खोजी गरेको थियो । भारतीयसँग भएको तीनवटा सोनार नेपालीले प्रयोग गरेको भन्दा परिष्कृत र प्राविधिकहरू अनुभवी रहेका कारण खोजी कार्य उपलब्धिमूलक हुने अपेक्षा थियो ।

निरन्तर खोज्दा पनि बस र यात्रु भेट्न नसकेपछि उद्धार टोली अब सफलता नमिल्नेमा लगभग एकमत छन् । बेपत्ताका आफन्तले पनि आश मारिसकेको अवस्था छ । त्यसैले उद्धार टोली ‘माथिको निर्देशन’ को पखाईमा छ । ‘हामीलाई यी बस र थप यात्रु भेटिँदैन भन्ने थाहा छ, तर हामी निरन्तर यसमा लागिरहेका छौं किनभने खोजी कार्य स्थगित गर्नु भन्ने आदेश आइसकेको छैन, हामी त्यसैको प्रतिक्षामा छौं,’ सशस्त्र प्रहरीका एक जना सुरक्षा अधिकृत भन्छन् ।

बसको खोजीमा अहिले पनि दैनिक सयौं जना सुरक्षाकर्मी परिचालन गरिएको छ । केही दिनअघिसम्म नारायणी नदी किनारमा फाट्टफुट्टरुपमा शव भेट्ने गरिएकोमा पछिल्लो समय भेटिन पनि छाडेको छ । त्यसैले उद्धारमा खटिएका सुरक्षाकर्मीहरु पनि सकेसम्म चाँडै नै खोजी कार्य रोक्नु भन्ने आदेश चाँडै आइदिए हुन्थ्यो भन्ने पक्षमा छन् ।

त्यसो त २०७३ साल असोज ९ गते पोखराबाट काठमाडौं जाँदै गर्दा घोप्टेभीरबाट त्रिशूलीमा खसेर बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजी कार्य पनि दुई सातासम्म गरिएको थियो । घिमिरेसँगै भाइहरु प्रकाश र मदन पनि नदीमा बेपत्ता भएका थिए । दुई हप्तासम्म खोजी गर्दा पनि उनीहरुको अवस्था पत्ता नलागे पछि सरकारको खोजी कार्य नै रोकेको थियो भने परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका थिए ।

पूर्वगृहमन्त्री घिमिरे सवार गाडी दुर्घटना र सिमलताल दुर्घटनामा फरक के छ भने, घिमिरेको असोज र सिमलताल दुर्घटना असारमा भएको थियो । असोज महिनामा त्रिशूलीमा पानीको बहाब अहिलेको भन्दा धेरै कम थियो । तर, सिमलताल दुर्घटनामा त्रिशूली नदी अहिले बस खसेको ठाँउसम्म आउँदा बीचमा मस्र्याङ्दी मिसिएर झन् ठूलो भएको छ । घटनास्थलबाट केही किलोमिटर तल त्रिशूलीमा सेती नदी पनि मिसिएको छ । अर्को केरा, अहिले मध्य बर्खा पनि हो । त्यसैले पानीको तीब्र बहाव छ र धमिलो पनि छ । त्यसैले बस भेटिने सम्भावना कम रहेको निष्कर्षमा उद्धार टोली पुगेको हो ।

१९ किलोको चुम्बक नै हरायो
शनिबार दिउँसो बसको खोजी लागि प्रयोग गरिएको १९ किलोको चुम्बक नै पानीमा हराएको छ । भारतबाट १४ र १९ किलोको दुईवटा चुम्बक ल्याएर खोजी गरिएको थियो । तीमध्ये १९ किलोको चुम्बक हराएको हो ।
पानीको तीब्र प्रवाहका कारणले चुम्बक हराउनु सामान्य कुरा भएको प्रहरीको भनाइ रहेको छ । ‘९/९ टनका बस नदीमा हराएका छन्, १९ किलोको चुम्बक हराउनु कुन ठूलो कुरा भयो र रु’ एक उद्धारकर्ताको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?