संसद्मा उठ्यो नेपालकाे हवाइ सुरक्षाबारे प्रश्न : विधेयक अघि बढाउन माग

लोकपथ
28
Shares

काठमाडौं । संसद्मा नेपालको हवाइ सुरक्षाको विषयमा प्रश्न उठेको छ ।

आइतबार बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोलेका सांसदहरुले साउन ९ गते भएको सौर्य एयरको जहाज दुर्घटनाको बारेमा प्रश्न गर्दै हवाइ सुरक्षाका विषयमा सरकारको ध्यानाकर्षण गराए ।

बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष समेत रहेका सांसद राजेन्द्र लिङ्देनले सौर्य एयरको जहाज दुर्घटनाका विषयमा सरकारको ध्यानाकर्षण गराए । उनले सौर्य एयरको जहाज काठमाडौंमा मर्मत हुन नसक्ने भएर पोखरा लैजान लागिएको हो या के कारणले हो त्यसको विषयमा सरकारको जवाफ माग गरे ।

त्यस्तै त्यति ठुलो संख्यामा कर्मचारी र गैरकर्मचारीहरु जानुपर्ने विषयमा सरकारको जवाफ माग गर्दैै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सेवाप्रदायक वा नियामक निकाय छुट्टयाउन माग गरे ।

यात्राका साधनहरुमध्ये सबैभन्दा सुरक्षित मानिए पनि नेपालमा हवाइ यात्रा सबैभन्दा जोखिम बनेको भन्दै त्यसलाई चासोका साथ लिन आग्रह गरे ।

त्यस्तै आजको बैठकमा बोल्दै कांग्रेस सांसद राजेन्द्र बजगाँइले नेपालको हवाइ असुरक्षाकै कारण नेपालमा पर्यटन उद्योग धरासायी भएको दाबी गरे ।

‘नेपालको हवाइ क्षेत्रकै कारण नेपालको पर्यटन उद्योग कोमामा पुगेको बताए,’ उनले भने ।

हवाइ सुरक्षा खस्किएको विषयमा पटकपटक सांसदमा आवाज उठे पनि सरकारले त्यसलाई चासोका नहेरेको बताए । साथै सरकारले हवाइ दुर्घटना र सवारी दुर्घटनाका मृतकहरुमाथि भेदभाव गरेको भन्दै कटाक्ष गरे । सौर्य एयरका विमान दुर्घटनामा १८ जनाको मृत्य हुँदा सरकारले राष्ट्रिय झण्डा आधा झुकाएको तर ६५ जना बेपत्ता हुनेगरी दुई बस दुर्घटना हुँदा सरकारले त्यसमा चासो नदिएको भन्दै कटाक्ष गरे ।

बैठकमा बोल्दै कांग्रेस सांसद सञ्जयकुमार गौतमले विगत दुई वर्षमा मात्रै २ विमान दुर्घटना र ५ हेलिकप्टर दुर्घटनामा १२० जनाले ज्यान गुमाएको बताए । नेपाली आकाशमा हवाइ उडानको ७१ वर्षको समीक्षा गर्दै सौर्य एयरको विमानमा उडानमा भएको लापरबाहीबारे गम्भीर भएर छानबिन गर्न माग गरे ।

साथै राष्ट्रिय सभाले पारित गरेको ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७७’ नेपाल हवाइ सेवा विधेयक २०७७ कहाँ थन्किएर बसेको छ भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराए ।

उक्त दुई विधेयक तत्काल प्रतिनिधि सभामा ल्याउन आग्रह गर्दै हवाइ दुर्घटना बिमाको विषयमा सरकारलाई ध्यानाकर्षण गराए ।

गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । उक्त विमानका क्याप्टेन मनिषरत्न शाक्यको भने उद्धार गरी अहिले उपचार भइरहेको छ ।

उक्त विमान दुर्घटनापछि नेपालमा हवाइ सुरक्षाको विषयमा आवाज उठेृको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?