सौर्यको विमान दुर्घटना : इन्जिनियर मनुराजले श्रीमती र छोरा लैजान मिल्थ्यो ?, मन्त्रीको जवाफ यस्तो

लोकपथ
483
Shares

काठमाडौं । साउन ९ गते त्रिभुवन अन्तराष्ट्रिय विमान दुर्घटनाका विषयले नेपालको हवाइ सुरक्षाको विषय फेरि एकपटक सतहमा आएको छ ।

१८ जनाको ज्यान जानेगरी भएको उक्त दुर्घटनाग्रस्त विमान मर्मतका लागि काठमाडौंबाट पोखरा जाँदै थियो । त्यसमा प्राविधिक र इन्जिनियर मात्रै राखिएको भनिएकोमा एक महिला र बालक समेत रहेको विषयमा समेत एयरलाइन्सको विरोध भइरहेको छ ।

सौर्यका आइटी इन्जिनियर मनुराज शर्माकी श्रीमती र छोरा अधिराज शर्मा समेत सोही विमानमा पोखरा जाँदै थिए । मर्मतका लागि लैजान लागिएको उक्त जहाजमा पारिवारिक सदस्य समेत लिएर गएको विषयमा विरोध भएपछि पर्यटनमन्त्री बद्री पाण्डेले त्यसको विषयमा जवाफ दिएका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा विमान दुर्घटनाबारे जवाफ दिँदै मन्त्री पाण्डेले मनुराजकी श्रीमती प्रिजा उर्जा मन्त्रालय साथसाथै सौर्य एयरमा समेत पार्ट टाइम काम गर्ने गरेको स्पष्टीकरण दिए । त्यस्तै बालक अधिराजको सन्र्दभमा काठमाडौंमा हेर्ने कोही मान्छे नभएका कारण पोखरा लैजान लागेको मन्त्री पाण्डेको जवाफ रहेको छ ।

‘सौर्य एयरलाइन्सका आइटी इन्जिनियर मनुराज शर्माको श्रीमती प्रिजा खतिवडा उर्जा मन्त्रालयको कम्युटर अपरेटरका रुपमा करारमा कार्यरत हुनुहुन्थ्यो । सौर्य एयरलाइन्समा पनि पार्ट टाइम कम्युटर अपरेटरको रुपमा कार्यरत रहेको जानकारी सौर्य एयरलाइन्सबाट प्राप्त भएको छ । बालक अधिराज शर्माको सम्बन्धमा काठमाडौंमा बच्चा हेरचाह गर्ने कोही नभएकोले आफ्नो आमाबुबासँगै निज बालकसमेत लगिएको जानकारी एयरलाइन्सले दिएको छ,’ उनले भने ।

त्यस्तै मन्त्री पाण्डेले विमान दुर्घटनाको छानबिनका लागि कार्यदल बनेको जानकारी दिँदै त्यसको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने कुरामा सरकार गम्भीर रहेको बताए ।

उक्त विमान दुर्घटनामा एक विदेशीसहित १८ जनाको मृत्यु भइरहेको छ । १७ जनाको शव परिवारलाई बुझाइएको छ तर विदेशी नागरिकको हकमा त्यहाँको सरकारलाई जानकारी गराउने प्रक्रिया अघि बढेको मन्त्री पाण्डेले जवाफ दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?