बेलायतको राजपरिवारलाई नै स्तब्ध पार्ने बालबालिकालाई छुरा प्रहार गरिएको यो घटना

छुरा आक्रमणमा २ बालबालिकाको मृत्यु, ९ घाइते

लोकपथ
945
Shares

लण्डन । उत्तरी इंग्ल्यान्डमा सोमबार टेलर स्विफ्ट–थिम गरिएको नृत्य कक्षालाई लक्षित गरी भएको छुरी आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको र अन्य नौ जना घाइते भएका छन् ।

लिभरपुलको उत्तरमा रहेको साउथपोर्टमा भएको छुरा प्रहार घटनामा घाइते ९ जनामध्ये ६ जना बालबालिका र दुई जना वयस्कको अवस्था गम्भीर रहेको मर्सी साइड प्रहरीको चिफ कन्स्टेबल सेरेना केनेडीले बताइन् ।

आक्रमणकारी छुरी लिएर परिसरभित्र पसेको र बच्चाहरूलाई आक्रमण गर्न थालेको प्रहरीले जनाएको छ ।
‘आक्रमणमा घाइते भएका वयस्कहरूले बहादुरीपूर्वक बच्चाहरूलाई जोगाउन खोजिरहेका थिए भन्ने हाम्रो विश्वास छ,’ केनेडीले पत्रकार सम्मेलनमा भनिन् ।

आपतकालीन सेवाहरूलाई लगभग ११ः५० को स्थानीय समयमा सहरमा ‘ठूलो घटना’ भएको खबर आएको थियो । घटनास्थलबाट १७ वर्षीय बालकलाई पक्राउ गरिएको छ ।

‘अनुसन्धान प्रारम्भिक चरणमा छ र घटनाको कारण अस्पष्ट छ,’ केनेडीले भनिन् । यो घटना आतंकवादसँग सम्बन्धित नभएको प्रहरीले यसअघि बताएको थियो ।

घटनाबारे प्रहरीलाई खबर गर्ने स्थानीय व्यवसायी कोलिन पेरीले उक्त आक्रमण ‘हरर फिल्मको दृश्य’ जस्तै भएको बताएका छन् ।

साउथपोर्टबाट करिब २० माइल टाढा रहेको लिभरपुलको ‘एल्डर हे चिल्ड्रेन’ अस्पताल ट्रस्टले यो घटनालाई ‘ठूलो घटना’ घोषणा गरेको सिएनएनले जनाएको छ ।

‘ट्रस्टले यस घटनाको जवाफ दिन अन्य आपतकालीन सेवाहरूसँग सहकार्य गरिरहेको छ र हाम्रा आपतकालीन विभाग हाल अत्यन्त व्यस्त छ,’, अस्पतालको वेबसाइटमार्फत प्रकाशित विज्ञप्तिमा भनिएको छ ।

बेलायतका राजा चाल्र्स र उनकी पत्नी रानी क्यामिलाले घटनाबाट आफूहरू स्तब्ध भएको बताएका छन् । ‘साउथपोर्टमा भएको भयानक घटनाको खबर सुनेर मेरी श्रीमती र म स्तब्ध भएका छौ,’ राजा चाल्र्सले शाही परिवारको आधिकारिक सामाजिक सञ्जालमार्फत साझा गरेको विज्ञप्तिमा भनिएको छ । बेलायतका प्रधानमन्त्री कीर स्टारमरले पनि घटनाप्रति प्रतिक्रिया दिँदै सम्पूर्ण देश स्तब्ध भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?