काठमाडौँ । ३० जुलाई अर्थात् मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवस । यस वर्ष ‘मानव अधिकारको सम्मान गरौँ, मानव बेचबिखन तथा ओसारपसार बन्द गरौँ’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ ।
मानव बेचबिखन विरुद्धको दिवस मनाउँदै गर्दा नेपालमा भने मानव बेचबिखन र मानव तस्करीको प्रवृत्तिमा परिवर्तन आएपनि सङ्ख्यामा कमी आएको छैन, बरु झनझन बढिरहेको छ ।
वैदेशिक रोजगारी, भिजिट भिसा, नेपाली महिलाहरूलाई विवाह आदिका नाममा व्यापक मानव तस्करी भइरहेको छ भने स्वदेशमै पनि जबरजस्ती यौन व्यवसायमा धकेल्ने लगायतका काम भइरहेका छन् । यस्तो अवस्थामा नेपालमा मानव बेचबिखनको अवस्था के छ ? यसको रोकथामको लागि सरकार र सरोकारवाला निकायले कस्तो काम गरिरहेका छन् भनेर हामीले मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता समेत रहेका एसपी गौतम मिश्रसँग कुराकानी गरेका छौँ । कुराकानीको सारांश यहाँ प्रस्तुत गरिएको छ ।
नेपालमा मानव बेचबिखन तथा ओसारपसारको अवस्था कस्तो छ ? विगतको तुलनामा घट्दो छ कि बढेको छ ?
ब्युरोको अध्ययन अनुसार पछिल्लो समयको तथ्याङ्क अनुसार मुद्दा दर्ता, उद्धार, अपरेसन र कारबाही गरेको अवस्था हेर्ने हो भने अहिले बढेको नै देखिन्छ । प्रहरीको एक्सन बढ्यो भने अपराध पनि धेरै दर्ता र पक्राउ भएको अवस्था छ, उद्धार पनि धेरै भएको देखिन्छ । नयाँ ट्रेन्ड हेर्दा आन्तरिक र बाह्य दुई तरिकाले बेचबिखन भएको पाइन्छ । आन्तरिक रूपमा हेर्ने हो भने मनोरञ्जनको क्षेत्रमा, होटेल तथा रेस्टुरेन्ट, मसाज सेन्टर, ब्युटी पार्लर जस्ता ठाउँहरूमा कामदारको रूपमा राखेर चेलीबेटीको बेचबिखन भएको देखिन्छ । यहाँ व्यवसायको आवरणमा मानव बेचबिखन भइरहेको छ ।
अन्तर्राष्ट्रिय स्तरमा हेर्ने हो भने बेरोजगारी र देशको आर्थिक अवस्था प्रमुख कारण देखिएको छ । देशमै भएको रोजगारी पनि भरपर्दो देखिँदैन । खेतीपातीमा संलग्न भएकाहरू त्यसलाई छाड्ने । चाँडो र सजिलै कसरी पैसा कमाउन सकिन्छ भन्ने सोच राख्ने कारण वैदेशिक रोजगारीमा गएको देखिन्छ । समस्या के भयो भने अहिले वैदेशिक रोजगारीको नाममा विभिन्न ठगहरू देखा परे । ठग र तस्करले आफ्नो सञ्जाल बनाउने भए । यिनीहरूको राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा सञ्जाल बनाइसकेपछि फ्री भिसा फ्री टिकट भनेर हाम्रा चेलीहरूलाई विशेष गरी खाडी मुलुकमा लगेर घरेलु कामदारका रूपमा मानव बेचबिखन गर्ने गरिरहेका छन् ।
कामदार चाहिएकाले आएर बार्गेनिङ गरेर किनबेच गर्ने गरिरहेका छन् । लिएर गएपछि घरभित्र नै उनीहरूलाई यौन शोषण गर्ने गरेको पाइन्छ । बन्धक बनाउने, परिवारसँग सम्पर्कविहीन गराइदिने र वेश्यावृत्तिमा लगाइदिने जस्ता कामहरू गराइएको पाइन्छ ।
सबैतिर यस्तै हो कि खाडी मुलुकमा मात्रै छ यी समस्या ?
माथिको भनिएका समस्या खाडी मुलुकको समस्या हुन्, थाइल्यान्ड, म्यानमार जस्ता देशहरूमा नेपालीहरू साइबर स्क्यामिङको काम गर्नका लागि लगिएको छ । तस्करहरूले महिनाको एक हजारदेखि १५ सय डलरसम्म कमाई हुन्छ भनेर लैजाँदै बन्धक बनाएर काम गराइरहेका छन् । अन्य विभिन्न बहानामा घुम्न जाने, सेमिनारमा जाने, सांस्कृतिक टोली लैजाने भनेर पनि मानव तस्करी भइरहेको छ । अहिले मानव बेचबिखनको स्वरूप परिवर्तन भएता पनि अपराध घटेको छैन, बरु बढिरहेको छ । मानव बेचबिखनको मुद्दाहरू चलाउने कुरामा पनि प्रहरीको एकदमै सक्रिय भूमिका छ ।
मुद्दाको अनुपात घटेर मानव बेचबिखनको मात्रा पो बढेको छ कि ?
ब्युरो स्थापना भएदेखि नै आजको दिनसम्म एक हजार सात वटा मुद्दा दर्ता भएका छन् । त्यसमा लगभग २ हजार १ सय जना आरोपित पक्राउ परी कानुनको दायरामा ल्याइएका छन् । करिब २ हजार ५ सय जनाको उद्धार भएको छ । अझै पनि मानव बेचबिखनका सबै मुद्दाहरूलाई कानुनको ढोकासम्म ल्याइ पु-याउन सकिएको छैन । पीडित आफैँ प्रेरित भएर प्रहरीको ढोकासम्म आइपुगेको घटना ज्यादै कम छ । सामाजिक च्यानलहरूमा नै वार्ताबाट मुद्दा मिलाउने तर प्रहरीकहाँ सूचना र उजुरी लिएर नआउने प्रवृत्ति बढेको छ । उद्धार भएर आइसकेपछि रिस मर्दै गएर पैसा लिएर प्रहरीलाई फोन नै नगर्ने, प्रहरी रिपोर्टमा मुद्दाका लागि आऊ भन्दा भाग्ने गरेको अवस्था पनि छ । यस कारण मानव बेचबिखनको अवस्था घट्नुभन्दा पनि विकराल बनिरहेको छ, बरु यसको तौरतरिकामा परिवर्तन भने भएको छ ।
मानव बेचबिखन विरुद्धको अभियानमा प्रहरीले के कस्तो काम गरिरहेको छ ? तथ्याङ्क हेर्दा नेपालको कुन भागबाट धेरै मानव तस्करी भएको पाइएको छ ?
प्रहरीले यस विषयमा जनचेतनामूलक कार्यक्रमहरू पनि गरेको छ । जिल्ला प्रहरी कार्यालयहरू र प्रहरी चौकी स्तरसम्म जनचेतनामूलकता कार्यक्रमहरू भएका छन् । समुदाय–प्रहरी साझेदारी भन्ने कार्यक्रम पनि रहेको छ । साझेदारी कार्यक्रममार्फत मानव बेचबिखनको विषयलाई लिएर विद्यालयहरूमा पनि पुगिएको छ । प्रहरी शिक्षकको नियुक्ति गरेर अगाडि बढिएको छ । पालिका स्तरसम्म साझेदारी कार्यक्रमहरू सञ्चालन गरिएको छ । मानव बेचबिखन सम्बन्धी विभिन्न ठाउँमा डिजिटल बोर्डहरू राखेर सूचना प्रवाह गर्ने गरेका छौँ ।
सबैभन्दा बढी काठमाडौँ र काठमाडौँसँग जोडिएका मकवानपुर, धादिङ, नुवाकोट, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक तथा उदयपुर जिल्ला बढी प्रभावित देखिन्छन् । युरोप अमेरिकाका नाममा हुने मानव तस्करीमा सल्यान, रुकुम, रोल्पा, दाङका मानिसहरू बढी प्रभावित छन् ।
देशको कुन भागमा धेरै मानव बेचबिखन हुन्छ भन्ने कुरामा सबैभन्दा बढी काठमाडौँ र काठमाडौँसँग जोडिएका मकवानपुर, धादिङ, नुवाकोट, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक तथा उदयपुर जिल्ला बढी प्रभावित देखिन्छन् । युरोप अमेरिकाको हिसाबले हेर्दा सल्यान, रुकुम, रोल्पा, दाङका मानिसहरू बढी प्रभावित छन् ।
मानव बेचबिखन तथा ओसारपसारको मुद्दामा कति व्यक्तिहरू प्रहरीको नियन्त्रणमा छन् ? कस्ता मुद्दा बढी छन् ?
पाँच वर्षमा जम्मा एक हजार चार वटा मुद्दा दर्ता भयो । ती मुद्दाहरूमा २ हजार १ सय २२ जना पक्राउ परे । पीडितको सङ्ख्या १ हजार ४ सय ४२ छ । अझै पनि सात सय ७९ जना आरोपित फरार छन् । फरार मध्य अधिकांश देश बाहिर छन् । तिनीहरूलाई पनि विभिन्न माध्यमबाट समातेर नेपाल ल्याउने कोसिस भइरहेको छ । मुद्दाहरूको अवस्था हेर्दा सबैभन्दा बढी वैदेशिक रोजगारमा जाने र भिजिट भिसाको दुरुपयोग भएको पाइन्छ । श्रम स्वीकृति नपाइने देशहरूमा विभिन्न खाडी मुलुक तथा थाइल्यान्ड, मलेसिया, सिंगापुर, इन्डोनेसिया लगायतका देशमा भिजिट भिसामा जाने र त्यहाँबाट अन्य देशमा पुराउने गरिएको छ । ती देशहरूमा पछि समस्या परेपछि फर्किएका महिलाहरूले मानव बेचबिखनको उजुरी दिएर अनुसन्धान र अभियोजन भएको घटनाहरू पनि छन् ।
पहिला खुल्ला सिमाना भएको कारण मानव तस्करी हुन्छ भन्ने गरिन्थ्यो, अहिले त्यो सिफ्ट भएर वैदेशिक रोजगारसम्म पुगेको हो ?
पहिलेको कुरा गर्दा नेपालमा धेरै मानव तस्करी चाहिँ भएको हो । विदेशमा खासै मानव तस्करी भएको पाइँदैनथ्यो, अलि अलि बिहे गरेर लैजाने घटनाहरू थियो । तर अहिले लक्ष्य भारत त छँदै छ तर अरू देशहरू जस्तै खाडी मुलुकहरू र पूर्वीय देशहरू पनि टार्गेट भएका छन् । खुल्ला सीमा त अहिले पनि चुनौती नै छ ।खाडी पुर्याइएका मान्छेहरू पनि हाम्रो खुल्ला सिमानाबाट भारतका विभिन्न एयरपोर्टबाट उडेर त्यहाँ पुगेको देखिन्छ । खुल्ला सिमाना हाम्रो लागि चुनौती नै छ । मानव बेचबिखन तथा ओसारपसारको मुख्य पोइन्ट भनेको हाम्रो खुल्ला सिमाना नै हो । सिमानामा विभिन्न सुरक्षा निकाय भए पनि यतिले मात्र रोक्न सक्ने अवस्था छैन । किनभने हाम्रो सबै ठाउँमा सिमाना छ हिँड्दा हिँड्दै भारत पुगिन्छ । कहाँ नेपाल कहाँ भारत पिलर नभएको ठाउँमा त्यो पनि थाहा नहुने अवस्था छ । त्यो कारणले खुल्ला सिमाना हाम्रो लागि चुनौती त छ ।
सबै काम गर्दा गर्दै पनि यो घट्नुको सट्टा किन बढिरहेको छ ?
यसको जरासम्म जानुपर्छ । यसको जरा भनेको हाम्रो बेरोजगारी, अशिक्षा, गरिबी नै हो । किनभने हामीमा आधुनिक कृषि प्रणाली लागू हुन सकेको छैन । मानिसहरूलाई कृषि तथा पशुपालन व्यवसायमा आकर्षित गर्न सकिएको छैन । उद्योगधन्दा, कारखाना खोलेर यहीँ रोजगारी सिर्जना गर्ने कामतर्फ पनि धेरै लागेका छैनन् । मानिसहरूका लागि अहिले सजिलो के भने विदेश जाने, कमाउने, ल्याउने अथवा कोही उतै बस्ने हिसाबले जाने भए । यसको मुख्य कारण भनेकै बेरोजगारी, अशिक्षा, गरिबी नै हो । रोक्न नसक्नुको मुख्य कारण पनि यही हुन् ।
जबसम्म नेपालमा बसेर केही गर्न सकिन्छ भन्ने भावना जागृत गराउन सकिँदैन, तबसम्म वैदेशिक रोजगारका नाममा हुने मानव बेचबिखनका अपराधहरू नियन्त्रण गर्न समस्या हुन्छ । तथापि यसमा एजेन्टहरूले छलेर, प्रलोभनमा पारेर लिएर जाने पनि हुन्छ । यो हाम्रो अशिक्षाको कारणले हुने घटना हो । यो पनि बढिरहेको छ ।
त्यही न्यूनीकरण गर्न प्रहरीले के गरिरहेको छ त ?
हामीले केही पनि गर्न सकेका छैनौँ भन्ने त होइन, धेरैलाई कारबाहीको दायरामा ल्याएका पनि छौँ । धेरैलाई फिर्ता पनि गरिएको छ । फिर्ता गर्दा गर्दै पनि प्रहरीको आँखा छलेर भाग्ने, यो राम्रो होइन, फर्किनु भनेर भन्दा पनि मेरो अधिकार हनन नगर्नु भन्ने खालको, फर्किएका मान्छे अर्को बाटोबाट जाने गरेको अवस्था अझै कायम छ । यसलाई रोक्नको लागि जरादेखि नै बलियो हिसाबले काम गर्नुपर्ने हुन्छ । यसमा स्थानीय सरकारदेखि केन्द्रीय सरकार सबैको समान दायित्व रहन्छ ।
सरकारले वा ब्युरोले के काम गर्दा मानव तस्करी घट्छ जस्तो लाग्छ ?
कसैको एकल प्रयासले यो रोक्न सकिँदैन । यसलाई रोक्नको लागि सबैको साझा प्रयास चाहिन्छ । नगरेको पनि होइन, सरकारले धेरै काम गरेको छ । ब्युरोले पनि काम गरिरहेको छ । तर ब्युरो एक्लैले ७७ जिल्ला, सात प्रदेश, अन्तर्राष्ट्रिय विमानस्थलहरू सबैमा उपस्थिति पुराउन सकेको छैन । यतिसम्म कि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत हाम्रो उपस्थिति हुन सकेको छैन ।
स्थानीय तहले पनि इन्ट्रीको व्यवस्था गर्नुपर्ने हुन्छ । आफ्नो नागरिक कहाँ छ भनेर सूचनाको एउटा अभिलेख राख्ने एउटा सिस्टम बनाउनु प–यो । वडा तहदेखि विदेश जानुभन्दा अगाडि सोधपुछ गर्ने व्यवस्था गर्नुपर्ने, यसको साथै प्रदेश सरकारको समन्वयको कुराहरू हुन्छ । केन्द्रीय सरकारको नीतिगत कुराहरू छन् । मानव बेचबिखन तथा ओसारपसार ऐनलाई संशोधन गर्नुपर्ने कुराहरू छन् । यसमा विचार गर्नुपर्छ ।
उद्धार भएर आएका मान्छेलाई राख्नको लागि सरकारी तहबाटै व्यवस्था हुनुपर्छ । अहिले संघ संस्थाले बनाएको ठाउँमा उद्धार भएर आएका पीडितहरू बस्नुपर्ने अवस्था छ ।
अपराधीलाई कानुनी दायरामा ल्याउनको लागि विभिन्न राष्ट्रहरूसँग एमओयू गर्नुपर्ने, कानुनी सहायताको सम्झौता गर्नुपर्ने छ । देशभित्रै राख्न सक्ने अवस्था, रोजगारी दिन सक्ने अवस्था हामीले सिर्जना गर्नुपर्छ । सबै कामहरू आफ्नो आफ्नो तहबाट गर्ने हो भने यसलाई नियन्त्रण गर्न सकिन्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हजारौँको सङ्ख्यामा मानिस बाहिरिने गर्छन् । त्यही नै ब्युरोको पहुँच पुगेको रहेनछ । यो त लज्जाकै विषय भएन र ?
ब्युरोको टोली त्यहाँ नहुँदैमा सबै सकियो भन्ने होइन । त्यहाँ नेपाल प्रहरीको सुरक्षा युनिट छ, अध्यागमन विभाग छ । तत्कालका लागि त्यहाँ हाम्रो भूमिका छैन मात्र भन्न खोजेको हो । यसको मतलब त्यहाँ सुरक्षा निकाय छैन भन्ने होइन । हाम्रो ब्युरोको भूमिका पनि हुने हो भने उपयुक्त हुन्छ भन्ने मात्र हो । यी सबै ठाउँमा ब्युरोको बिस्तार गर्नुपर्ने छ ।
मानव बेचबिखनमा परेका पीडितलाई पुनर्स्थापना गर्नको लागि प्रहरीले कस्तो भूमिका खेलेको छ ?
हामीले उद्धार भएर आएका जति पनि बेचबिखनमा परेका पीडितहरू छन् उहाँहरू आउने बित्तिकै हामी उहाँहरूसँग परामर्श गर्छौ । गैर सरकारी क्षेत्रका संस्थाहरू छन् उनीहरूले बेचबिखनमा परेका पीडितलाई बस्नको लागि उपयुक्त ठाउँ दिने, कानुनी कामहरू गर्ने जस्ता कामहरू गर्नुहुन्छ । पीडितहरू सुरक्षित महसुस नगरेसम्म अथवा बस्न चाहेसम्म त्यहीँ राख्ने व्यवस्था गर्ने, पढाउने, सिप सिकाउने विभिन्न संस्थाहरू छन् । सबै जना मिलेर नै काम गरिरहेका छौँ । सकेसम्म उहाँहरूलाई सहयोग गर्ने प्रयास गर्छौँ ।
मानव बेचबिखनमा परेकाहरूको मुद्दा हेर्दा कुन केस तपाईँको लागि चुनौतीपूर्ण थियो ?
धेरै केसहरू छन् । हालै मात्र भारतमा लगेर बेच्न लागेको, हामीलाई सूचना आएको थियो । एउटा केटाले एक जना १६ वर्षकी नानीलाई बेच्न लिएर गइरहेको छ भन्ने सूचना आएको थियो । त्यसपछि हामीले प्राविधिक अनुसन्धान गर्दा चापागाउँ हुँदै हेटौँडा निस्किएर जान लागेको भन्ने सूचना पाएपछि चापागाउँका प्रहरीसँग समन्वय गरेर केटालाई पक्राउ गर्न सफल भयौँ । र, केटीलाई उद्धार गरेर ल्याएका थियौँ । लाने मान्छे एउटा, नेपालमा खोजिदिने एक जना र यो सँगै अर्को एक जना मान्छे पनि पत्ता लगाएका छौँ । यस्ता धेरै केसहरू छन् । कतिपय घटनाहरू भावुक बनाउने प्रकृतिका पनि छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया