काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्याम ज्ञवालीको कार्यशैलीमाथि प्रश्न उठाउँदै प्रहरी प्रधान कार्यालयले छानबिन प्रक्रिया अघि बढाएको छ । ज्ञवालीले सीआईबीको अनुसन्धानमा बदनियत राखेको भन्दै प्रहरी प्रधान कार्यालयले एआईजी टेकप्रसाद राईको नेतृत्वमा छानबिन प्रक्रिया अघि बढाएको हो ।
ज्ञवालीमाथि आफ्नो पद मात्र होइन, प्रहरी शक्तिको दुरुपयोग गरेको भन्दै संगठनले छानबिन प्रक्रिया अघि बढाएको हो । भविष्यमा प्रहरी अधिकारीको हैसियत गैरव्यावसायिक उद्देश्यका लागि दुरुपयोग हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यसलाई निरुत्साहित गर्न पनि ज्ञवालीमाथि कारबाही गर्ने सरकारको तयारी छ ।
एआईजी ज्ञवाली सीआईबीमा आएपछि सुन तस्करीमा संलग्न कसैमाथि पनि कारबाही प्रक्रिया अघि नबढाएको र निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध पीडित बचतकर्ताले दिएको उजुरीका आधारमा यसअघि सीआईबीले नै गरेको अनुसन्धान दबाएको आरोप छ ।
तत्कालीन गृहमन्त्री लामिछानेले सुन तस्करीको अनुसन्धानमा बदनियत राखेको आरोप लगाउँदै चैत दोस्रो साता एआईजी किरण बज्राचार्यलाई सीआईबीबाट हटाएर ज्ञवालीलाई ल्याएका थिए । तर वास्तविकता त्यो भन्दा फरक के थियो भने लामिछाने संलग्न भनिएको सहकारी ठगी प्रकरणमा सीआईबी प्रमुख बज्राचार्यले अनुसन्धान गरिरहेकाले उनलाई हटाइएको थियो । यसमा लामिछानेको स्पष्टरुपमा ‘खोट’ देखिएको थियो ।
त्यसो त ज्ञवालीमाथि बालमन्दिर जग्गा प्रकरणमा मृतकका नाममा पनि अदालतबाट पक्राउ पुर्जी जारी गराएको, बालमन्दिर प्रकरणसँगै जोडिएका व्यापारीसँग अस्वाभाविक हिमचिम गरेको, तत्कालीन सेन्चुरी बैंकको कर्जा हिनामिना प्रकरणमा आरोपितहरूसँग ‘नाजायज’ र ‘अस्वाभाविक सम्बन्ध’ राखेको आरोप पनि छ । साथै उनीमाथि केही मुद्दाका प्रतिवादीसँग आर्थिक लेनदेन गरेको आरोप पनि छ ।
एआईजी राई नेतृत्वको छानबिन समितिले यी विषयलाई पनि अनुसन्धान गर्ने भएको छ ।ज्ञवालीमाथि संगठन प्रमुखलाई नै ‘बाइपास’ गर्ने गरी काम गर्ने गरेको आरोप पनि छ । त्यसो त लामिछाने गृहमन्त्री हुँदा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई हटाएर आफू महानिरीक्षक बन्न उनले सक्दो प्रयास पनि गरेका थिए ।
तत्कालीन गृहमन्त्री लामिछानेले ज्ञवालीलाई प्रहरी प्रमुख बनाउन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन सत्ता साझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुरा पनि अघि बढाएका थिए । तर, दाहाल र ओली दाहिने नबन्दा उनको प्रयासले मूर्तरुप लिन सकेन ।
एआईजी ज्ञवाली ५६ बर्से उमेर हदका कारण आगामी २६ भदौमा अनिवार्य अवकाशमा जाँदै छन् । तर, त्यो भन्दा अगावै उनीमाथि सरकारले कस्तो ‘डण्डा’ बजार्ला, त्यसको लागि केही दिन कुर्नुपर्ने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया