सिमलताल दुर्घटनाका बेपत्ता बस र यात्रुको खोजी गर्न चीनको पनि सहयोग मागिने

लोकपथ
364
Shares
फाइल तस्बिर : सिमलताल बस दुर्घटनामा बेपत्ताहरुको शव खोज्दै

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट त्रिशूलीमा बेपत्ता भएका दुई ओटा बस र यात्रुको खोजी कार्यका लागि सरकारले चीनसँग पनि सहयोग माग्ने भएको छ ।

गृहसचिव एकनारायण अर्यालले संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा यस विषयमा जानकारी दिएका हुन् ।‘खोजीका लागि चीन सरकारसँग पनि अनुरोध गर्ने तयारी गरिरहेका छौं,’ गृहसचिव अर्यालले भने ।
गत असार २८ गते शुक्रबार बिहान साढे तीन बजेतिर काठमाडौंबाट गौर जाँँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल नामको यात्रुबस नारायणगढदेखि करिब २३ किलो मिटरपूर्व उत्तर सिमलताल सिँदुरेगैरामा झरेको लेदोसहितको पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएको थियो ।

दुवै बसमा रहेका कुल ६५ यात्रुमध्ये ३ जना हामफालेर बाँच्न सफल भएका थिए । खोजीका क्रममा खोजी टोलीले घटनास्थलदेखि लगभग १०३ किलोमिटर तल नारायणी नदी तट र त्रिवेणी बाँध क्षेत्रबाट २५ वटा शव फेला पारेकोमा तीमध्ये १९ शव मात्रै पहिरोमा परेको बसका यात्रुको भएको पुष्टि भएको छ । जसमध्ये चार वटा शवको सनाखत हुन सकेको छैन । अन्य यात्रु बेपत्ता छन् ।

दुर्घटनामा परेका यात्रुका परिवारजनले आफ्नो परम्पराअनुसार दाहसंस्कार पनि गरिसकेका छन् । उनीहरुले १३ औं दिनको काजकिरिया गरिसक्दा पनि सुरक्षा निकायले शवको खोजीकार्यलाई जारी राख्दै आएका छन् ।

विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौली र स्थानीय प्रहरीले खोजीकार्य गरिरहेकोमा पछिल्लो समयमा भने भारतबाट आएको राष्ट्रिय विपद् रेस्पोन्स फोर्सको टोलीले पनि सम्भव भएका सबै प्रविधि र उपाय लगाएर खोजी गरेको थियो । उनीहरुलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले पनि साथ दिएका थिए । यद्यपि, कुनै प्रगति हुन नसकेपछि भारतबाट आएको उद्धार टोली आइतबार भारत फर्किसकेको छ ।

हराएका बसको खोजीका लागि गत साउन ४ गते १२ जना भारतीयकोे खोजी तथा उद्दार टोली आएको थियो । भारतको ‘राष्ट्रिय आपदा मोचन बल’ ९एनडीआरएफ०का प्राविधिकहरू प्रविधिसहित एक हप्ताका लागि खोजीमा आएका थिए । भारतीय टोलीले सम्भव भएका सबै प्रविधि र उपाय लगाएर खोजी गरेको थियो ।

भारतीय टोलीले पानीभित्र रहेका वस्तुहरूको आकार र आकृति संकेत गर्ने उपकरण सोनारसहित खोजी गरेको थियो । नेपाली टोलीले पनि गोताखोर र सोनार तथा पानीभित्रका वस्तु हेर्न मिल्ने क्यामेरासहित खोजी गरेको थियो । भारतीयसँग भएको तीनवटा सोनार नेपालीले प्रयोग गरेको भन्दा परिष्कृत र प्राविधिकहरू अनुभवी रहेका कारण खोजी कार्य उपलब्धिमूलक हुने अपेक्षा थियो ।

बसको खोजीमा अहिले पनि दैनिक सयौं जना सुरक्षाकर्मी परिचालन गरिएको छ । केही दिनअघिसम्म नारायणी नदी किनारमा फाट्टफुट्टरुपमा शव भेट्ने गरिएकोमा पछिल्लो समय भेटिन पनि छाडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?