काठमाडौं । १७ वर्षअघि नेपाल कमर्श क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न एक व्यक्ति पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक व्यक्तिलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो ।
बुधवार अपराह्न पत्रकार सम्मेलन गरेर पक्राउ परेका व्यक्ति सार्वजनिक गर्ने तयारी गरिएको छ ।
२०६४ असार २६ गते ललितपुरतर्फको शंखमुलमा एक पुरुष बेहोस अवस्थामा फेला परेका थिए । शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा भेटिएका उनको उपचारका क्रममा मृत्यु भएको थियो । मृत्यु हुने व्यक्ति थिए, इमाडोल घर भएका नेपाल कमर्स क्याम्पसका प्राध्यापक ३३ वर्षीय धर्मराज विष्ट ।
विष्टले सोही क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी सोभिता थापालाई जिस्काएको निहुँमा सोभिताको योजनामा हत्या भएको थियो ।
धादिङको गंगाजमुना गाउँपालिका–७ घर भई ललितपुर ढोलाहिटी बस्ने सबिता थापा अधिकारी भनिने सोभिता थापालाई प्रहरीले गत वर्ष मात्रै पक्राउ गरी जेल पठाएको थियो ।
अनुसन्धानका क्रममा प्राध्यापक विष्टले सोभितालाई जिस्काएपछि सोभिताले त्यो कुरा आफ्ना भाइ विनोद थापालाई भनेकी थिइन् ।
विनोदले आफ्ना साथीहरू रञ्जन खड्का र राजीव पाण्डेलाई समेत सो कुराको जानकारी गराएपछि विष्टको हत्या गर्ने योजना बनाएर उनलाई शंखमुलमा बोलाइएको थियो ।
विष्टलाई सोही स्थानमा रडले हानेर गम्भीर घाइते बनाइ हत्या बनाइएकामा पछि उपचारका क्रममा मृत्यु भएको थियो ।
सोभिताका भाइ विनोद थापा २०७१ पुस ३ गते लागु औषध मुद्दामा पक्राउ परेका थिए ।
पक्राउपछि उनी हत्या आरोपमा समेत दोषी पाइएपछि कर्तव्य ज्यानको समेत सजाय काटेर २०७९ असोज बाँकी कैद माफी पाएर रिहा भएका थिए । घटनामा संलग्न अन्य दुई जना भने अझै फरार रहेका थिए ।
पक्राउ परेका व्यक्तिका बारेमा प्रहरीले हालसम्म कुनै जानकारी दिएको छैन । यद्यपि नेपाल प्रहरीले भारतबाट नै पक्राउ गरी नेपाल ल्याएको स्रोतले बताएको छ । हत्यापछि भारतमा लुकेर बसेका ती व्यक्तिलाई अपराध महाशाखाको टोलीले भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल ल्याएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया