काठमाडौं । रोजगारीको शिलशिलामा साउदी पुगेर क्यान्सर रोगको पीडित अनिल निरौलाको उद्धार गरी नेपाल फर्काइएको छ ।
झापा धुलावारीका ३७ वर्षीय अनिल लामो समयदेखि क्यान्सर भइ अलपत्र अवस्थामा रहेका थिए ।
सुर्तीको सेवन गर्ने क्रममा त्यसमा मिसिएको ‘पिन’ का कारण उनको मुखमा सानो प्वाल परेको थियो । उक्त घाउ बढ्दै गएपछि क्यान्सरको रुप लिएको र करिव २ महिनादेखि उपचारको अभावमा साउदीको दम्माममा नेपालीहरुको सहयोगमा बस्दै आइरहेका थिए ।
निरौलाले काम गरिरहेको कम्पनी एक वर्ष अघि नै छाडेर इलिगल रुपमा त्यहाँ बस्दै आएका थिए । साथै प्रहरीमा समेत २ उजुरी परेका कारण उपचार र नेपाल फिर्तिका लागि समेत समस्या रहेको नेपाली जनसम्पर्क समिति साउदीका सभापति अर्जुन थापाले जानकारी दिए । थापाका अनुसार केही समय अघि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा समक्ष निरौलाका परिवारले उद्धारको माग गरेपछि जनसम्पर्क समिति साउदीको पहलमा उद्धार थालिएको थियो ।
समितिको टोलीले त्यहाँ रहेको नेपाली राजदूतावास रियादका पुर्वी क्षेत्रका जनसम्पर्क अधिकारी नारायण पासवानसँग समन्वय गरी ‘एक्जिट भिसा’ को व्यवस्था गरिएको थियो ।
‘एक्जिट भिसा’ प्राप्त गरेपछि नेपाली जनसम्पर्क समिति साउदी अरबले निरौलालाई नेपाल फर्कने हवाई टिकट उपलब्ध गराएसँगै उनी आज हिमालय एयरलाईन्स मार्फत नेपाल फर्किएका छन् । त्यस्तै प्रहरीमा रहेको २ केस समेत क्लियर गरेर उनलाई नेपाल फर्काउन सकिएको सभापति थापाले बताए ।
उनका अनुसार अनिलको उपचारका लागि झापाका सांसद समेत रहेका महामन्त्री शर्माले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया