हमास नेता हानिया हत्याको तरंग : लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन दूतावासको आग्रह

लोकपथ
735
Shares

काठमाडौं । इजरायलको आक्रमणमा इरानमा हमास प्रमुख इस्माइल हनिया तथा लेबनानमा हिजबुल्लाहका कमान्डर फुआद सुकर मारिएपछि मध्यपूर्वमा हिंसा चर्किने खतरा बढ्ने आशंका गर्दै इजिप्टको कायरोस्थित नेपाली दूतावासले लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन सुझाव दिएको छ ।

लेबनानसमेत हेर्ने इजिप्टको कायरोस्थित नेपाली दूतावासले सूचना जारी गर्दै भनेको छ, ‘लेबनानमा विकसित घटनाक्रमका सन्दर्भमा उक्त मुलुकमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई आवश्यक सतर्कता तथा सचेतना अपनाउन एवं सहायताका लागि नेपाली राजदूतावास कायरो तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासका देहायानुसारको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध छ ।

’ कायरोमा सम्पर्कका लागि–

-इमेल : [email protected]

-सम्पर्क व्यक्ति : दीपक घिमिरे – द्वितीय सचिव

-फोन नम्बर +201097772348 (ह्वाट्सएप)

-माधवराज काफ्ले – तृतीय सचिव

-फोन नम्बर +201002505997 (ह्वाट्सएप)

-बेरुतमा सम्पर्कका निम्ति–

-इमेल : [email protected]

-मोहम्मद गोजायल, अवैतनिक महावाणिज्यदूत

-फोन नम्बर +9613301181/+96171688821/+96181883713

लेबनानमा रहेका नेपालीको सूची अद्यावधिक गर्ने प्रयोजनका निम्ति दूतावासको वेबसाइटमा रहेको लिंकमार्फत आवश्यक विवरण उपलब्ध गराइदिन पनि दूतावासले आग्रह गरेको छ । यसैबीच लेबनानस्थित भारतीय दूतावासले अति आवश्यक अवस्थाबाहेक लेबनान यात्रा नगर्न भारतीयहरूलाई आग्रह गरेको छ। भारतीय दूतावासले पनि एडभाइजरी (सल्लाह) जारी गर्दै लेबनानमा रहेका भारतीयहरूलाई सावधानी अपनाउन, अनावश्यक आवतजावत नगर्न र आफूसँग सम्पर्कमा रहन सल्लाह दिएको छ। भारतीय दूतावासले आपत्‌कालीन नम्बर पनि जारी गरेको छ। हमासका नेता इस्माइल हानियाको हत्यापछि अहिले मध्यपूर्वमा तरंग उत्पन्न भएको छ । लामो समयदेखि हमास र इजरायलबीच जारी द्वन्द्वलाई शान्ति वार्तामार्फत टुंगोमा पु¥याउने पहल भइरहेका बेला हमासका नेता हानियाको हत्याले ठूलो तरंग उत्पन्न भइरहेको छ ।

हानियाको हत्या इरानको राजधानीमा तेस्रो पक्षबाट हुनुले इरान क्रुद्ध छ । हानियाको हत्या इरानी भूमिमै हुनु इरानको नाकैमा हाने जस्तो पनि हो । गत वर्ष अक्टोबरमा हमासले इजरायलमाथि अप्रत्याशित आक्रमण गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासलाई पूरै सखाप बनाउने भाषण गरेका थिए । निशानामा पार्नका लागि इजरायली गुप्तचरले हमासका नेताहरूलाई निगरानीमा राखेका थिए । त्यसो त इजरायलकै आक्रमणमा हानियाले आफ्ना तीन छोरा हाजम, आमिर, मोहम्मद अनि चार नाति नातिना गुमाएका थिए । त्यसको तीन महिना २० दिनपछि उनले पनि ‘इजरायलकै मिसाइल’बाट ज्यान गुमाए । परिवार गुमाएपछि उनी कतार बस्न थालेका थिए । प्यालेस्टाइनको इस्लामिक उग्रवादी समूह हमासको राजनीतिक विभाग प्रमुख रहेका उनी इरानका नयाँ राष्ट्रपतिको पदभार समारोहमा सहभागी हुन छोटो समयका लागि तेहरान पुगेका थिए । जसलाई इजरायली गुप्तचरले निशाना बनाइरहेका थिए ।

उनी कतारमा कडा सुरक्षाबीच बस्दै आएका थिए । कतारको भूमिमा क्षेप्यास्त्र प्रहार राजनीतिक रूपमा पनि सम्भव नभएकाले इजरायल कुन पनि बेला हानिया सो क्षेत्र छाडेर बाहिर जान्छन् भन्ने प्रतीक्षामा रहेको इरानको सो घटनाले देखाउँछ । त्यसो त आफ्नो भूमिमा विदेशी कूटनीतिको हत्याले इरानलाई नाक जोगाउन अब हम्मे परेको छ । त्यसो त इरान हमासलाई समर्थन गर्ने प्रमुख मुलुक हो । इरानकै समर्थनमा हमासले आफ्ना गतिविधि बढाउँदै आएको थियो । इजरायल र हमास द्वन्द्वका बेलामा पनि इरानले हमासलाई समर्थन गर्दै इजरायलले चर्को मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिएको थियो । हमासले यस आक्रमणमा इजरायलको हात रहेको दाबी गरेको छ । यद्यपि, इजरायलले अहिलेसम्म औपचारिक टिप्पणी भने गरेको छैन । हमासका वरिष्ठ अधिकारी मुसा अबु मरजोकले आक्रमणलाई कायर हर्कत भनेका छन् । उनले यसको बदला लिने चेतावनी पनि दिएको अल जजिराले लेखेको छ ।

६२ वर्षीय हानिया हमासको अन्तर्राष्ट्रिय कूटनीतिमा ठूलो नाम थियो । गाजामा इजरायली बम बर्सिरहेकै समयमा उनको हत्या भएको छ । इजरायलले बाहिरी भूमिमा आक्रमण भएका बारेमा कुनै टिप्पणी गर्ने गरेको पाइँदैन । यसअघि अप्रिल महिनामा इजरायलले इरानको हवाई प्रतिरक्षा प्रणालीलाई तारो बनाएर आक्रमण गरेकै शैलीमा हानियाको हत्या गरेको छ । हानियाको हत्याले गाजामा युद्धविराम गराउने विषय जटिल हुन सक्नेछ । युद्धविराम गर्ने विषयमा हमासको वार्ता टोलीमा हानियाले नेतृत्व गरिरहेका थिए । अब उनको हत्यासँगै युद्धविरामको विषय अन्योल बनेको छ । पहिलो कुरा इरानमा हानियाको हत्या हुनुले जो सुकै पनि सुरक्षित छैनन् भन्ने सन्देश दिएको छ ।

दोस्रो कुरा इजरायलले इरानसामु आफ्नो क्षमता देखाएको छ । हानियाको हत्याबाट गाजाको युद्धविराम र बन्धकहरूको रिहाइका लागि भइरहेका प्रयास असफल हुने संकेत देखिएको छ । इजरायलको आक्रणपछि निर्वासन जीवन बिताइरहेका हमासका नेताको हैसियतमा कतार, अमेरिका र इजिप्टको मध्यस्थतामा वार्ता भइरहेका थिए । तर, हानियाकै हत्याका कारण युद्धविरामको विषय टाढा बन्ने संकेत देखिन्छ । टर्कीको विदेश मन्त्रालयले हानियाको हत्याले नेतान्याहुको उद्देश्य शान्ति हासिल गर्ने नरहेको स्पष्ट भएको टिप्पणी गरेको छ ।

इरानका राष्ट्रपतिले सो ‘कायरतापूर्ण कृत्यका लागि आतंकवादी अतिक्रमणकारीहरूले’ ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । इरानले आफ्नो अखण्डता र सार्वभौमसत्ता रक्षाका लागि कदम चाल्ने जनाएको छ । रुस, चीन र टर्कीले सो हत्याको निन्दा गरेका छन् । कतारले त्यसलाई तनावलाई खतरनाक तहमा चर्काउनसक्ने प्रतिक्रिया दिएको छ । हमास र इजरायलबीच मध्यस्थता गर्दै आएको कतारले एक विज्ञप्ति प्रकाशित गर्दै सो आक्रमणलाई ‘गम्भीर अपराध’ भनेको छ । कतारको विदेश मन्त्रालयले सो घटनाबाट ‘अन्तर्राष्ट्रिय र मानवीय कानुनहरूको उल्लंघन’ भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?