कञ्चनपुरमा महिला खाने बाघलाई डार्ट गरी नियन्त्रणमा लिइयो

लोकपथ
392
Shares
फाइल तस्बिर

महेन्द्रनगर । कञ्चनपुरमा महिलामाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ ।

बाघलाई डार्ट गरी नियन्त्रणमा लिइएको हो । आज शुक्रबार बिहान ९ः३७ बजे बाघलाई बेहोस गर्ने इन्जेक्सन लगाएर नियन्त्रणमा लिइएको हो ।

इन्जेक्सन लागेको बाघ अहिले नियन्त्रणमा आइसकेको नेपाली सेनाका सेनानी नवीन बोहराले बताए । बिहीबार नियन्त्रण लिन नसकेपछि शुक्रबार पुनः खोजी कार्य सुरु गरिएको थियो । बिहीबार रात परेकाले खोजी गर्न समस्या आएपछि शुक्रबार बिहानैदेखि खोजी गर्दा नियन्त्रणमा आएको हो । बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक डार्ट टोली र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको पाँच  हात्ती, जेसिबीसहितको टोलीले खोजी सुरु गरेको थियो ।

बर्दियाको प्राविधिक टोलीले बिहीबार साँझ ४ बजेपछि खोजी कार्य सुरु गरेको थियो । ३ घण्टा लगातार प्राविधिक टोलीले खोजी गर्दा बाघ नियन्त्रणमा नआएपछि रात परेकाले खोजी कार्य रोकिएको थियो । रातभरी उक्त क्षेत्रमा निकुञ्ज टोलीसहित सुरक्षाकर्मीहरूले पहरा दिएका थिए । बिहीबार बिहान १० बजे दोधारा चाँदनी नगरपालिका–२ मा बाघको आक्रमणमा परी सोही ठाउँकी २० वर्षीया हीरा शाहको मृत्यु भएको थियो । धान खेतमा काम गरिरहेकी उनको शव नजिकैको उखुबारीमा फेला परेको थियो । महिला खाने नरभक्षी बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लगिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?