ट्रेकिङ व्यवसायमा समस्या आए नेपालको पर्यटन धराशायी हुन्छ : राजेन्द्रप्रसाद सापकोटा

विकासले पर्यटन पूर्वाधारको विनाश गरिरहेको छ, यसलाई ध्यान दिनुपर्छ

ट्रेकिङ व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को वार्षिक साधारण सभा आगामी भदौ १७ गते हुँदैछ । दुई वर्षको कार्यकालका लागि नयाँ कार्यसमितिसमेत चुनिने भएकाले नयाँ कार्यसमितिमा रहनका लागि अहिलेदेखि नै रस्साकस्सी सुरु भइसकेको छ । धादिङका राजेन्द्रप्रसाद सापकोटाले आगामी कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । २० वर्ष पर्यटन व्यवसायमा बिताएका सापकोटा आउटडोर हिमालयन ट्रेक्सका प्रबन्ध निर्देशक पनि हुन् । टानको आगामी निर्वाचन र ट्रेकिङ व्यवसायका सम्बन्धमा लोकपथ संवाददाता अनिषा खत्रीले सापकोटासँग कुराकानी गरेकी छिन् । प्रस्तुत छ, सापकोटासँग गरिएको कुराकानीको सम्पादित अंश ।

तपाईँ टानको अध्यक्ष पदमा उठ्नु भएको छ, अध्यक्ष पदमा उठ्नुको मुख्य उद्देश्य के हो ?

अध्यक्ष पदमा उठ्नुको मुख्य कारण नै संकटउन्मुख पदयात्रालाई जोगाउनु हो । विकास निर्माणको नाममा बनेका बाटाहरूले पदयात्राको रुटहरूमा पारेको असर र पदयात्राको महत्वबारे बुझाउनु नै मेरो पहिलो र मुख्य एजेन्डा हो । किनभने विकास निर्माणको नाममा स्थानीय निकायले पदयात्राको महत्त्व नै नबुझी बाटो बनाउँदा पदयात्रा मार्गहरू क्षतविक्षत र नष्ट भएका छन् । पदयात्राको महत्त्व र यसका बाटोहरूलाई हामीले बचाउन सकेनौँ भने हामीले पर्वतीय पर्यटनमा अब केही उपलब्धि गर्न सक्दैनौँ । किनभने पर्यटकहरू नेपाल आउँदा उनीहरूको पहिलो प्राथमिकतामा पर्ने भनेको नै एडभेन्चर टुरिजम र पर्वतारोहण हो । त्यसैले पदमार्गलाई बचाउन पहल गर्ने मेरो मुख्य एजेन्डा हो ।

मेरो सोच भनेको यसलाई एउटा राष्ट्रिय महत्वको रूपमा नै बहसमा लैजानु पर्छ भन्ने हो । राज्यसँग समन्वय गरेर पदयात्रा पर्यटनलाई नेपालको शिक्षामा नै समावेश गर्नुपर्छ । किनभने नेपालमा पदयात्रा पर्यटनमा भविष्य छ । नयाँ पुस्तालाई यस क्षेत्रमा लगाउन सकिने ठुलो सम्भावना छ । विदेश जाने युवाहरूलाई रोक्न पनि सकिन्छ । त्यसका लागि पदयात्रा पर्यटन क्षेत्रलाई जोगाउनु पर्छ भनेर विशेष ढङ्गले पहल गरेर मन्त्रालयसँग समन्वय गरेर जानका लागि एउटा विशेष पहल गर्ने कोसिस गर्नेछु ।
यस क्षेत्रमा हामी नेपाल पर्यटन बोर्ड र टान मिलेर टिम्स (ट्रेकर्स इन्फरमेसन म्यानेजमेन्ट सिस्टम) लागू गरेका छौँ । तर टिम्स केही क्षेत्रमा लागू भएको छ, केहीमा भएको छैन । पदयात्रा व्यवसायीहरूको अहिलेको मुख्य समस्या भनेको ट्रेकर्सहरु आफूखुसी विभिन्न ठाउँमा जाने र कतिपय ठाउँमा सुरक्षाका कारण पर्यटकहरू हराइरहने समस्या पनि छ । सुरक्षाको कारण देखाएर अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो देशको पर्यटनमा नराम्रो सूचना पनि गएको छ ।

टिम्समा कम्तीमा पनि एफआईटी टिम्स बन्द गरेर पर्यटक पदयात्रामा जाँदा एउटा मजदुरलाई लिएर जाने भयो भने त्यसमा रोजगारीको कुरा पनि समेट्न सकिन्छ । यसरी टिम्सको सम्बन्धमा पनि नयाँ व्यवस्था गरेर कम्पनीहरूमै पर्यटक आउने वातावरण सिर्जना गर्ने प्रयत्न गर्नेछु । यसले रोजगारी पनि सिर्जना गर्छ ।

अहिले धेरै खाडी मुलुकमा गएर युवाहरू काम गरिरहेका छन् । खाडीमा गएर काम गरेको भन्दा बढी पैसा नेपालमा नै कमाउन सकिन्छ भनेर बुझाउन पनि जरुरी छ । त्यसैले पर्यटकलाई कम्पनीमार्फत पदयात्रामा जाने वातावरण बनाउन विशेष रूपमा काम गर्ने मेरो सोच छ ।

टानको अर्को समस्या भनेको जो व्यक्ति अध्यक्ष बनेर गएपनि पर्यटन बोर्डबाट पैसा ल्याएर खर्च गर्ने भन्दाभन्दै उनीहरूको कपाल फुलेर जान्छ, तर काम हुँदैन । किनभने टानमा पहिले नै धेरै बेरुजु भएको कारण बोर्डले अहिले पैसा नै दिएको छैन । तर म पर्यटन बोर्डबाट पैसा लिन तिर नलागेर सोझै पदमार्ग वा पर्यटन पूर्वाधारमा खर्च गर्ने गरी काम गर्नेतिर लाग्नेछु, जहाँ बोर्ड र स्थानीय निकायले समन्वय गरोस् ।

किन बोर्डले पैसा दिएको छैन तपाईँहरूलाई ?
दिएको छैन । किनभने बेरुजु भनेर राखेको छ । पर्यटन बोर्डबाट पैसा ल्याउनका लागि हामी नलाग्ने, पैसा चाहिएन । हामी के गर्छौँ भने राज्यसँग समन्वय गरेर पर्यटन बोर्डसँग, डिपार्टमेन्टसँग, मन्त्रालयसँग समन्वय गरेर स्थानीय निकायलाई नै अघि बढाउने । यसको अगुवाइ टानले गर्ने र जहाँ जहाँ स्थानीय पदमार्गहरू छन्, जहाँ जहाँ नयाँ पदमार्गहरू बन्न सक्छन् त्यहाँ नयाँ पदमार्गलाई प्रवर्द्धन गर्न सकिन्छ । त्यहाँ हामी पर्यटन बोर्डलाई पनि सँगै राखेर अत्यावश्यक कुराहरूमा सिस्टमबाटै खर्च गर्छौँ र त्यसको खर्चको व्यवस्थापन बोर्डले । तर पर्यटन बोर्डसँग प्राविधिक टिम छैन, त्यसकारण स्थानीय निकायले बाटो बनाउँछ । पदमार्ग बनाउने रकम हामी टानमा ल्याउनतिर लाग्दैनौँ ।

टानको आन्तरिक खर्चका लागि हामीलाई बोर्डबाट कुनै पैसा चाहिँदैन, हामी सदस्यहरूबाट नै चल्न सक्छौँ । जहाँ जहाँ अहिले पदमार्गमा समस्या छ, त्यस्ता पदमार्गलाई सुरक्षित बनाउनका लागि पर्यटन बोर्डसँग समन्वय गरेर स्थानीय निकायसँग समन्वय गरेर अहिले भइरहेको पदमार्गहरूको स्तर उन्नतिमा विशेष ध्यान दिएर लाग्नेछु ।

अर्को कुरा, अहिले यस क्षेत्रमा पर्यटन मजदुर पाउनै समस्या छ । भारी बोक्ने मजदुरहरू नै अब म किन भारी बोक्ने भन्ने भइसकेका छन् । ट्रेकिङ गाइडहरू पाउनै गाह्रो हुन थालिसक्यो ।

हिमाल आरोहण गर्नेहरू रिटायर्ड हुँदै गए नयाँ पुस्ताका युवाहरू कोही पनि आउँदैनन् । हिमाल चढ्ने आरोहीहरू नै नपाउने सम्भावना भइसकेको छ । आरोहीहरूले उमेर बढ्दै गएपछि छाड्छन् । नयाँ कोही आउँदैन भने के गर्नुहुन्छ ? त्यसैले यी सबै समस्याको हलको लागि नयाँ पुस्तालाई यो क्षेत्रमा भविष्य छ भन्ने कुराको शिक्षा दिएर उनीहरूको सुरक्षाको जिम्मा लिएर अगाडि बढ्नुपर्छ ।

त्यही हिमाल आरोहीहरूले अन्यत्र धेरै पैसा कमाउने, तर यहाँ पैसा पनि कम, जोखिम धेरै भएकाले आकर्षण नभएको हो कि ?
आकर्षण किन भएन भने अहिले नयाँ पुस्ताले छिट्टै धनी हुने अपेक्षा राख्छन् । उनीहरूको महत्त्वाकाङ्क्षा तीव्र छ यो स्वाभाविक पनि हो । यो क्षेत्रमा यहाँ सम्भावना छ पैसा नकमाउने भन्ने होइन, यहाँ पैसा कमाइन्छ यो क्षेत्र सुरक्षित छ, आउनुहोस् भनेर हामीले उनीहरूलाई आकर्षण गर्न सकिरहेका छैनौँ । पर्यटन र प्राकृतिक सम्पदाको बारेमा सीमित क्षेत्रभन्दा बाहिर गएर उनीहरूले हेरेकै छैनन् । अब हामीले नयाँ पुस्तालाई पर्यटन र ट्रेकिङको बारेमा अनिवार्य रूपमा पाठ्यक्रममा नै राखेर पढाउनुपर्छ । यो देशमा ट्रेकिङ भनेको के हो र यसको के महत्त्व छ भनेर बुझाउनु पर्छ ।

तपाईँको चिन्ता चाहिँ ट्रेकिङ ट्रेलहरू नै मासियो भन्ने हो कि छोटियो भन्ने हो ?

अहिले सरसर्ती हेर्दा छोटियो भन्ने हो । उदाहरणका लागि अन्नपूर्ण सर्किट पूर्णरूपमा मासियो भन्छु म । अन्नपूर्ण सर्किट ट्रेक पहिले २१ दिनको हुन्थ्यो । बेसीशहरबाट ट्रेक सुरु हुन्थ्यो तर अहिले खाङसारसम्म बाटो गएको छ । त्यहाँबाट एक दिनमा मनाङ पुगिन्छ, भोलिपल्ट हाइक्याम्प पुग्छ र थोरङ्ग्ला पास गरेर मुक्तिनाथ झरेर त्यही दिन पोखरा आउन सकिन्छ । यसरी हेर्दा तीन दिनमा ट्रेकिङ सकिन्छ । २१ दिनको ट्रेक ३ दिनमा सकिन्छ भने त्यो लगभग सकियो भन्ने हो । यहीँबाट पाठ सिकेर अहिले नै हामीले बहस गरेर सगरमाथा क्षेत्रमा एड्भान्स टुरिजमको कति महत्त्व छ भन्ने बुझ्नु र बुझाउन जरुरी छ ।

सगरमाथा ट्रेकको मुख्य समस्या भनेको त्यहाँको फोहोर व्यवस्थापनको समस्या हो । हिमाल चढ्न जाँदा गरिने फोहोरले त्यहाँको बेस क्याम्प ‘डिस्ट्रोय’ भइसक्यो । त्यो बेस क्याम्प कति दिन टिक्छ भन्ने छ ।

अहिले नयाँ कुरा पनि आएको छ कि सगरमाथाको बेस क्याम्पमा मलमूत्रको कारण जमिनको सतहभन्दा तलबाट विस्फोट वा अन्य समस्या आउन सक्छ । बेस क्याम्पमा रहेको मलमूत्रकै बेस क्याम्प नै भासिन सक्ने खतरा पनि बढेको छ । सगरमाथा चढ्ने समूहका व्यक्तिहरू बेस क्याम्पमा एक पटकमा ४०–४५ दिनसम्म बसेर दिसा पिसाब गर्छन् । त्यसले सगरमाथाको अस्तित्व पनि सकिने अवस्थामा पुगिसकेको छ । बेसक्याम्प माथितिर पनि त्यस्तै छ । अर्को, त्यहाँ अनावश्यक रूपमा हेलिकप्टरहरू प्रयोग भइरहेको छ । मानिसहरूले प्रयोग गर्न पाउँछन् तर आवश्यकता भन्दा धेरै होइन ।

हेलिकप्टर उडाउन त तपाईँ जस्तो व्यवसायीले यत्तिकै उडाइदिन्छन् भन्छन् नि, इन्सुरेन्स क्लेम गर्नका लागि …?
लगभग हामी १ हजार ८ सय ट्रेकिङ कम्पनी छौँ, कति जना त्यस्ता पनि छन् होला, त्यो विषयमा पनि अध्ययन गरौँ न । राज्यले छानबिन गरे भयो नि त । सीआईबीले अनुसन्धान गरेको थियो तर रिपोर्ट बाहिर आएन । यदि त्यस्ता कोही व्यक्ति छन् भने कारबाही पनि गर्नुपर्छ । सबै पवित्र छन् त म भन्न सक्दिनँ, सबैले त्यस्तै गरे भन्ने पनि त होइन नि । हाम्रो अन्तर्राष्ट्रिय बजारमा पु-याइएको गलत सन्देशलाई हामीले रोक्नुप-यो नि । त्यसमा रोक्नका लागि अगुवाइ चाहिँ हामीले गर्नुप-यो ।

ट्रेकिङ ट्रेल नष्ट भएको छ र सकिएको पनि छ । त्यसका लागि हामी वैकल्पिक मार्ग पनि बनाउन सक्छौँ । त्यसको लागि खर्च पनि त्यति धेरै लाग्दैन । मोटर बाटो बन्दैमा संस्कृति मर्दैन ।

अन्नपूर्ण क्षेत्रमा मान्छे किन धेरै जान्थ्यो भने सांस्कृतिक रूपले पनि तल गुरुङ बस्ती, माथि मनांगेहरुको बस्ती छ । त्यसको आफ्नै सुन्दरता छ, विविधतापूर्ण ल्यान्ड स्केपहरु छन् । हिँड्दा आनन्दको स्याउ फार्म छ, त्यो पार गर्दै गएपछि मनाङ पुगेपछि हिमालभित्र छिरेको जस्तो अनुभव हुन्छ । चारैतिर हिमालले घेरेको जस्तो अनुभव हुन्छ । बाटो पुगेर ट्रेल सकिइसकेको छैन, बरु धेरै स्थानमा ट्रेलमाथि नै मोटर बाटो बनेको छ । त्यसको सट्टा त्यस्तो स्थानमा अर्को बाटो निर्माण गर्न सकिन्छ, बनाउने भनेको त्यही नै हो ।

के धेरै ठाउँको मोटर बाटो ट्रेकिङ ट्रेलमा नै बनेको छ ?
मुख्य कुरा नै त्यही हो । हामीले किन त्यो रोक्न सक्दैनौँ ? जहाँबाट ट्रेकिङ ट्रेल छ त्यहाँ भत्काउँदै जाने प्रवृत्तिको अन्त्य गरौँ, वैकल्पिक बाटो बनाऊँ । पर्यटन बोर्डसँग स्रोत–साधन पनि छ । हामीसँग भएकै स्रोत साधनबाट त्यो बाटो बनाउन र पुनर्निर्माण गर्न सकिन्छ । पहिलो प्राथमिकतामा हामीले यसलाई राख्नुपर्छ ।

हामी सबैले के कुरा बुझ्नु पर्छ भने नेपालमा पर्यटन क्षेत्र बचाइराख्न हो भने एडभेन्चर टुरिजम बचाउनु पर्छ । नेपालको पर्यटनको मेरुदण्ड भनेको एडभेञ्चर टुरिजम नै हो । यसमा ट्रेकिङ ट्रेल बचाइएन भने अरू केही गर्न सकिँदैन भन्ने मेरो जोड हो, म त्यसकै लागि काम गर्छु र गर्नुपर्छ भन्ने सोचमा छु ।

टुर र ट्रेकिङ फरक–फरक हो । अपर मुस्ताङमा बाटो लगिएको छ, त्यहाँको टुर प्रोमोट गर्न स्थानीयलाई त विकास निर्माण चाहियो नि, त्यो पनि सही नै हो । तर त्यो बाटो कहाँसम्म लैजाने भन्ने हो । त्यसको लागि अल्टरनेटिभ विकल्पहरू बनाऊँ र ट्रेकिङ ट्रेललाई सक्नु अगाडि स्थानीयसँग छलफल गरेर स्थानीयको पनि समर्थन लिएर यसलाई बचाएर जाऊँ भन्ने नै हो ।

अहिले भइरहेको ट्रेकिङ ट्रेलहरूमा पनि सामान्य मात्रै समस्याहरू छन् । कुनै ठाउँमा सामान्य पुलहरू भत्किएका र असुरक्षित छन्, पर्यटक लड्ने अवस्था छ । कति ठाउँमा मजदुरको मृत्यु भइरहेको पनि छ । त्यसको मर्मतका लागि हामीसँग साधन स्रोत छ तर पैसा भएर पनि मर्मत गर्ने काम भएको छैन । यसमा हामीले अलि खबरदारी गरेर बचाउन सकेका छैनौँ । यसलाई बचाउने गरी लैजानुपर्ने पाटो रहेको छ ।

पर्यटन क्षेत्रमा ठुला ठुला होटेल व्यवसायीहरूले बाहेक अरू व्यवसायीहरूले (ट्रेकिङ मजदुर, गाइडहरूले) आफ्ना सन्तानहरूलाई आफूले गर्दै आएको काम हस्तान्तरण गर्नै चाहँदैनन्, किनकि त्यहाँ उनीहरूले भविष्य देखिरहेका छैनन् ।

किन अब भविष्य नदेखेर हो ?
हो, अहिले ट्रेकिङमा धेरैले भविष्य देख्दैनन्, तर यहाँ भविष्य छ । अमेरिका, क्यानडामा दुःख गरेर कमाएको भन्दा पनि यहाँ राम्रो कमाई छ । हामीले हाम्रा सन्तानहरूलाई हस्तान्तरण गर्न नसक्ने कस्तो व्यवसाय हो यो ? यो क्षेत्रमा भविष्य छ भन्ने शिक्षा दिनु आवश्यक छ । यो व्यवसाय बचाएर राख्नुपर्छ । यसलाई बचाउने अगुवाइ चाहिँ हामीले नै गर्नुपर्छ ।

अहिले ट्रेकिङ भन्ने बित्तिकै विदेशी मात्र सम्झिन्छौँ, गोरा छाला भएका गोरे मात्र भन्ने बुझ्छौँ । ट्रेकिङ जाने नेपालीहरू कत्तिको छन्, कतिको खर्च गर्छन् ? उनीहरूलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार कस्तो छ ?

सुरुवातदेखि नै ट्रेकिङ जाने मानिसहरू भनेको विदेशी मात्र हुन् भन्ने थियो र अहिले पनि त्यही नै छ । हामीले त्यसमा वकालत गरेनौँ । बिजनेस भनेको त आफ्नोमा आउने ग्राहक न हो यसलाई पनि हामीले बुझाउनु पर्छ । नेपाली पनि पर्यटक हो, उसले पनि खर्च गर्छ । अहिले ट्रेकिङ जानेमा नेपालीहरूको पनि आकर्षण बढ्दो छ तर नेपालीहरूलाई अझै पनि गरिने व्यवहार भने राम्रो छैन ।

नेपाली पर्यटकलाई व्यवहार राम्रो नगर्ने कसले ? ट्रेकिङ कम्पनीले वा स्थानीय व्यवसायीले ?

नेपालीहरू सामान्यतः ट्रेकिङ कम्पनीहरू प्रयोग नगरीकन आफ्नो देश हो भनेर आफैँ जाने गर्छन् । कतिपय ट्रेकिङ कम्पनीबाट पनि जान्छन् । तर आफैँ गएको अवस्थामा चाहिँ स्थानीय व्यवसायीहरूले रुम नदिने, विदेशीलाई मात्र दिने गरेका पनि छन् । नेपालीले कम खर्च गर्छ भन्ने मानसिकता राख्ने, नेपालीलाई स्वागत नगर्ने पनि गर्छन् । यसको लागि चाहिँ हामीले स्थानीय व्यवसायीसँग समन्वय गरेर उनीहरूलाई आन्तरिक पर्यटक पनि बाह्य पर्यटक जस्तै हो, उनीहरूलाई पनि समान सत्कार र सम्मान गर्नुपर्छ भन्नेबारे शिक्षा दिनुपर्छ । सम्बन्धित निकाय पर्यटन बोर्ड र टान जस्ता संस्थाले स्थानीयलाई यसबारे ट्रेनिङ दिने, नेपाली पर्यटक पनि पर्यटनको राम्रो स्रोत हुन् भन्ने बारेमा शिक्षा दिने र बुझाउने गर्नुपर्छ । यो चाहिँ हामी जस्ता सम्बन्धित निकायहरूले राम्रोसँग बुझाउन नसक्नुको परिणाम हो ।

ट्रेकिङ क्षेत्रमा तपाईँले अरू पनि केही सुल्झाउनै पर्ने समस्या देख्नुभएको छ कि ?

नेपालका ट्रेकिङ ट्रेलमा आजका दिनमा पनि निषेधित क्षेत्रको पनि समस्या छ । एउटा पर्यटक तिब्बत जस्तो ठाउँमा एक्लै ट्राभल गर्न पाउँछ, हामी २०३५ सालको पर्यटन ऐन बोकेर हिँडिरहेका छौँ । एउटा पर्यटक हाम्रो कम्पनीमा आउँछ, गाइड लैजान्छ, परमिट लिन्छ, ५ सय डलरको रोयल्टी तिरेर मुस्ताङ जान्छु भन्दा एक्लै जान पाउँदैन, कम्तीमा दुई जना विदेशी पर्यटक चाहिन्छ भन्छ । यतिसम्मको साँघुरो नियम बनाइएको छ । अब दुई जना कहाँबाट खोज्ने, दुई जनालाई सँगै लैजान मिल्छ कि मिल्दैन त्यो पनि हेरिँदैन । एक्लै जान चाहनेलाई के मुस्ताङ नै नलग्ने त ? तर यसको कारण चाहिँ सुरक्षा भनिएको छ, जबकि त्यहाँ त नेपाली गाइड भइहाल्छ त ।

भनेको अहिलेको पर्यटन ऐनमा संशोधन गर्नुपर्छ ?

अहिलेको पर्यटन ऐनलाई समयसापेक्ष परिवर्तन गरेर लैजानुपर्छ । नयाँ पदमार्गहरू अलिअलि पहिचान भइसकेका छन्, पहिचान नभएकाहरूलाई पनि पहिचान गरेर प्रवर्द्धन गर्नुपर्नेछ ।

अब उम्मेदवारीकै कुरा गरौँ । तपाईँलाई नेपाली काँग्रेस निकटले पनि समर्थन गर्ने भनिएको थियो, यो कुरा कहाँसम्म पुगेको छ ?

उहाँहरूसँग कुरा भएको छ । टान राजनीतिक संस्था होइन, पहिले पनि म पर्यटन बोर्डमा बस्दा सबल भूमिका निर्वाह गरेर आएको हुँ, त्यो जगजाहेर नै छ । यो विशुद्ध पदयात्रा पर्यटन व्यवसायीहरूको सुरक्षाका लागि व्यावसायिक प्रवर्द्धनका लागि, व्यवसायीको हकहितका लागि काम गर्ने छाता संस्था हो । कुनै पनि कोणमा राजनीतिक रूपमा प्रस्तुत हुँदिन, मेरो सम्पूर्ण राजनीति नै पदयात्रा व्यवसाय हो, म यसमा नै केन्द्रित हुन्छु ।

अब पर्यटन क्षेत्रमा काम गरिरहेका विभिन्न राजनीतिक दलमा आस्था राख्ने साथीहरूसँग पनि मेरो कुरा भइरहेको छ । म योङ पनि छु, समय पनि दिन सक्छु । आफ्नो कुरा भन्न पनि सक्छु । जोडतोडले यो व्यवसायलाई एउटा उचाइमा पु-याऊँ भन्ने मेरो विचार हो ।

सर्वसम्मत हुने सम्भावना छ त ?

त्यो सम्भावना मैले देखिरहेको छु । किनभने म पहिलेदेखि नै ट्रेकिङ क्षेत्रमा लागेको व्यक्ति हुँ । मलाई नयाँ पुस्ता र पुराना साथीहरूले पनि अब चाहिँ तपाईँ नै आउनुपर्छ भनेर हौसला दिइरहनुभएको छ । त्यस्तै राजनीतिमा आस्था राख्ने संघ सङ्गठनका साथीसँग पनि मेरो कुराकानी भइरहेको छ । उहाँहरूले पनि मिलेर जाऊँ द्वन्द्व गरेर केही हुँदैन भन्नुभएको छ । खर्चिलो, भड्किलो नगरौँ भन्नुभएको छ । म यस्तो ठुलो भोजभतेर गर्ने मनस्थितिमा छैन । सबै व्यवसायीकोमा पुग्ने, आफ्नो कुराहरू राख्ने, उहाँहरूको व्यवसायको ग्यारेन्टी गर्ने वकालत गर्छु । यी कुराहरूले गर्दा मैले सर्वसम्मत हुने सम्भावना प्रबल देखेको छु ।

केही असन्तुष्टिहरू पनि देखिएको छ नि, तपाईँकै सङ्गठनभित्र र बाहिर पनि छ, त्यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

त्यो म गर्न सक्छु भन्ने लाग्छ । कोही कोही व्यक्तिको विषयमा होला । उहाँहरूसँग समन्वय गरेर, बसेर, सल्लाह गरेर निष्कर्ष निकाल्छु । बाहिर अन्य संस्थाका उम्मेदवार भनेकाहरूसँग पनि कुरा भएको छ । व्यावसायिक हित गर्न, दुई वर्ष लामो समय होइन, यस पटक मलाई मौका दिनुहोस्, इमानदारीपूर्वक कोसिस गर्छु भनेर मैले उहाँहरूलाई भनेको छु ।

म नयाँ भर्खर आएकाहरूको पनि प्रतिनिधित्व गर्छु, सिनियरहरुलाई पनि समन्वय गर्छु, सम्मान गर्छु, उहाँहरूको कुरा सुन्छु । सबैको कुरा सुनेर साझा धारणा बनाएर कार्यान्वयन गर्छु भनेर म लागेको छु । साझा उम्मेदवार बनेर सबैको एजेन्डालाई बोकेर जाने मनस्थिति बनाएको छु । यसर्थ म सर्वसम्मत हुन्छु भन्नेमा मलाई विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?