हमासका शीर्ष नेता इस्माइल हनियेको हत्यामा छोटो दूरीको रकेट प्रयोग भएको खुलासा

लोकपथ
616
Shares

काठमाडौं । इरानले हमासका शीर्ष नेता इस्माइल हनियेको हत्यामा छोटो दूरीको रकेट प्रयोग भएको बताएको छ । पश्चिमा मिडियाले उनलाई पहिला नै गेस्ट हाउस पु-याइ बम विस्फोट गराएर हत्या गरेको दाबी गरिरहेका बेला इरानको यस्तो भनाइ आएको हो ।

इरानले घटनाबारे पहिलो पटक विवरणहरू सार्वजनिक गर्दै हनियेको निवासस्थान बाहिरबाट सात किलो जति विस्फोटक पदार्थ रहेको छोटो दूरीको रकेट प्रहार गरेर उनको हत्या गरिएको बताएको छ । सो रकेट अत्यन्तै शक्तिशाली रहेको दाबी पनि इरानले गरेको छ । यद्यपि, ड्रोन वा रकेट लन्चर के प्रयोग गरेर प्रहार गरिएको हो भन्ने स्पष्ट विवरण इरानले खुलाएको छैन ।

इरानले हनियेको हत्या इजरायलले गराएको र यसमा ‘अपराधी’ अमेरिकाले सघाएको आरोपसमेत लगाएको छ ।
गत मंगलबार इरानी राष्ट्रपति मसुद पेजेस्कियानको शपथ ग्रहण समारोहमा उपस्थित भएको केही घण्टापछि हनियेको हत्या गरिएको थियो । हमासले आफ्नो राजनीतिक विभागका ६१ वर्षीय प्रमुख हनियेको हत्या इजरायलले गरेको आरोप लगाए पनि इजरायलले भने अहिलेसम्म त्यसको जिम्मेवारी लिएको छैन ।

उता, पश्चिमा मिडिया ‘द न्युयोर्क टाइम्स’ले इस्लामिक रिभोल्युसनरी गार्ड्सको गेस्ट हाउसमा हनियेको हत्या भएको भन्दै सो गेस्टहाउसको फोटो नै छापेको छ । तर इरानले भने उनको निवासस्थानबारे केही विवरण खुलाएको छैन । द न्युयोर्क टाइम्सले हनियेको हत्या गर्न करिब दुई महिनाअघि इरानको गेस्ट हाउसमा बम पु¥याइएको र सोही बम विस्फोट गराइएको भनेर लेखेको थियो ।

बिहानको करिब दुई बजेतिर विस्फोट भएपछि गेस्ट हाउसका कर्मचारीहरू विस्फोट भएको स्थान पहिल्याउँदै हनियेको कोठामा पुगेका थिए । त्यहाँ रहेको चिकित्सकको टोलीले हनियेलाई तुरून्तै मृत घोषणा गरेको थियो ।
इरान भ्रमणमा गएको बेला हनिये सो गेस्ट हाउसमा पटक–पटक बस्ने गरेको टाइम्सले खुलाएको छ ।

तेहरानको सम्पन्न मानिसहरू बस्ने इलाकामा रहेको नेशत भनिने रिभोल्युसनरी गार्ड्सको सो गेस्ट हाउस आफ्ना गोप्य भेलाहरू गर्न र हनियेजस्ता विशिष्ट विदेशी पाहुना राख्न प्रयोग गरिन्थ्यो । ‘द इकोनोमिस्ट’ ले भने मिसाइल प्रयोग गरेर हनियेको हत्या गरिएको हत्या भएको दिन नै लेखेको थियो । उनको हत्यामा कतिले अमेरिकामा निर्मित अत्याधुनिक एफ–३५ लडाकु विमानको प्रयोग भएको दाबी गरेका छन् ।

पश्चिमा मिडियाले घटनापछि इरानले इजरायललाई हनियेको हत्या गर्न मद्दत गरेको आरोपमा खुफिया र सैनिक अधिकारीहरू सहित दर्जनौंलाई गिरफ्तार गरेको बताए पनि इरानले शनिबारको विज्ञप्तिमा त्यसबारे केही पनि भनेको छैन ।

हनिये विगत केही वर्षदेखि कतारको राजधानी दोहामा बसिरहेका थिए । हमाससँग युद्धविराम गराउन मध्यस्थता गराउन कतारले भूमिका खेलिरहेकाले इजरायलले हनियेमाथि कतारमा हमला नगरेको मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?