काठमाडौं । काठमाडौं उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तर्गत भोटो देखाउने जात्रा आज मनाइँदैछ ।
गुठी संस्थानका अनुसार भोटो देखाउने कार्यक्रममा राष्ट्रपतिसहित राज्यका विशिष्ट व्यक्तिहरूको उपस्थिति हुने छ ।
भोटो देखाएपछि करिब तीन महिनादेखि जारी रथजात्रा सम्पन्न हुनेछ । भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पुर्याउनुपर्ने परम्परा छ । ६ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ । यसरी रातो मच्छिन्द्रनाथको रथलाई ६ महिना पाटन र ६ महिना बुङ्मतीमा राख्ने चलन छ ।
करिब १६ सय वर्षअघि सुरु भएको मच्छिन्द्रनाथ जात्रा खेतीकिसानीसँग सम्बन्धित रहेको मानिन्छ । यो जात्रा वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म झन्डै दुई महिना चल्छ ।
कसरी रह्यो भोटो देखाउने जात्राको प्रचलन ?
किंवदन्तीअनुसार काठमाडौं उपत्यकामा रहेको टौदहमा एक जोडी नाग दम्पती बस्थ्यो । त्यो नागका राजा कर्कोटक नागको जोडी थियो । एकपटक नागिनीको आँखा बिरामी भयो । राजाले नागिनीको आँखा उपचार गराउने वैद्य खोज्ने क्रममा भक्तपुरमा एक जना जान्ने ज्यापू वैद्य रहेको थाहा पाए ।
कर्कोटक नाग ज्यापू वैद्यलाई खोज्न गए ।
नागले ज्यापूलाई नागिनीको आँखा दुखेको बिन्ती बिसाए । ती ज्यापू वैद्यले नागको अनुरोध स्वीकारे । दुवै टौदह पुगे । वैद्यले नागिनीका आँखामा मलम बनाएर लगाइदिए । उनको आँखा निको भयो । नागनागिनी ज्यादै खुशी भएर ज्यापू वैद्यलाई अनेक पुरस्कार दिए । सो पुरस्कारमा अनेक किसिमका मणि जडेको झलझल झल्कने भोटो पनि थियो । त्यो भोटो लगाएर ज्यापू वैद्य ढल्कँदै हिँड्थे । ज्यापूको त्यति राम्रो भोटो देखेर भूतलाई लोभ लाग्यो । ज्यापूले भोटो फुकालेर आलीमा राखी खेत खन्न थालेपछि भूतले भोटो सुटुक्क चोरेर लग्यो । हस्याङ्फस्याङ गर्दै वैद्य भूतको पछि लागे । उनले भूतलाई समात्न सकेनन् ।
पाटनमा त्यसअघि मच्छिन्द्रनाथको रथ तान्ने मात्र चलन थियो । यस समय मच्छिन्द्रनाथको रथ तानेर जावलाखेल ल्याइपुर्याउँदा उपत्यकावासी र भूतप्रेत पनि जात्रा हेर्न आउँथे । त्यो भोटो चोर्ने भूत पनि जात्रामा आउँछ कि भनेर ज्यापू त्यहाँ आइपुगे ।
नभन्दै झल्झली झल्केको भोटो लगाएर भूत जात्रा हेर्न आएको रहेछ । त्यो भूत झिलिक्क देखिएर मिलिक्क हराउँथ्यो । बल्लतल्ल वैद्यले पछाडिबाट भूतका पाखुरामा च्याप्प समाते । उनले भूतसँग आफ्नो भोटो मागे । भूतले मानेन । दुवैका बीच ठूलो झगडा भयो । राजा गुणकामदेव पनि मच्छिन्द्रनाथको दर्शन गर्न र जात्रा हेर्न त्यहाँ आएका थिए । राजाका भारदारले ती दुवैबीच ठूलो झगडा भएपछि राजाका अगाडि हाजिर गराए ।
वैद्यले राजासामु ‘महाराज मलाई कर्कोटक नागले दिएको भोटो यसले चोर्यो’ भने । भूतले भोटो मकैबारीमा आफूले पाएको राजासामु बतायो । गुणकामदेव न्यायी र धर्मात्मा राजा भएकाले दुवैसँग प्रमाण मागी निर्णय नहुञ्जेल त्यो भोटो नासोका रुपमा मच्छिन्द्रनाथको पुजारीलाई राख्न अनुरोध गरेको मानिन्छ ।
प्रमाणका लागि ज्यापू वैद्य टौदह किनारमा पुगेर कर्कोट नागलाई भेटे । नागले आफू पनि मान्छेको रुप लिइ सेतो लुगा लगाएर मच्छिन्द्रनाथ जात्रामा साक्षी बन्न आउने बताए । ‘म आउँदा हुरी चल्नेछ, म अरुभन्दा अग्लो पनि देखिने छु,’ कर्कोटक नागले भने । त्यस समय जावलाखेलमा मच्छिन्द्रनाथको रथ आइपुगेको तीन दिन भएको थियो । ज्यापू भोटो पाउने आश लिएर बेलैमा जावलाखेल आए ।
राजा गुणकामदेव पनि त्यहाँ आए । एकछिन हुरी चल्यो तर वैद्यले हुलमा अरुभन्दा अग्लो मान्छेलाई ठम्याउन सकेनन् । राजाले त्यो कसको भोटो हो भनी मच्छिन्द्रनाथ रथका चारै कुनाबाट देखाउने आज्ञा दिए तर साक्षी प्रमाणसहित त्यो भोटो लिन कोही पनि अघि सरेनन् भन्ने मान्यता अझसम्म नेपालमा रहिआएको छ । त्यसबेलादेखि मछिन्दनाथको रथसँगै भोटो देखाउने जात्राको प्रचलन रहिआएको बताइन्छ ।
तान्त्रिक गुरु बन्धुदत्त बज्राचार्यले रथ निर्माण गर्न अपनाएको विधिअनुसार नै रथ निर्माण गर्ने गरिएको छ । मच्छिन्द्रनाथको रथ शिखराकार भई माथिको गोलाइ सानो हुँदै जान्छ । रथमा त्रयोदश भुवनको प्रतीकस्वरुप तेह्र तला राखिन्छ । रथ बत्तीस लक्षणले युक्त मानिन्छ ।
रथको मुनि बीचमा राखिएको लामो काठलाई घःमा भनिन्छ । घःमालाई कर्कोटक नागका रुपमा मानिएको छ । यसको अग्र भागमा हयग्रीव भैरवको मूर्ति स्थापना गरिएको छ ।
रथ तान्दा कुनै बिघ्नबाधा नहोस् भनेर कर्कोटक नागराजको शिखा बिघ्नातक भैरवलाई आह्वान गरिन्छ । रथ तान्दै लैजाँदा दायाँबायाँ नढल्कियोस् भनी मेरुदण्ड सिधा गर्न डोरीले दायाँबायाँ आवश्यकतानुसार तन्काउने गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया