काठमाडौं । काठमाडौैंको कालोपुलमा एक पुरुषको शव फेला परेको छ ।
आज बिहान सवा १० बजेको समयमा कालोपुलस्थित दयालक्ष्मी महर्जनको घरमा डेरा गरी बस्ने प्रेम महत दर्जी मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले लोकपथलाई दिएको जानकारी अनुसार उनी आफ्नी श्रीमती उषा सार्कीसँग बस्दै आएका थिए ।
उनीहरु पहिले अन्तै बस्ने गरेको र करिब एक महिनादेखि अहिले सो घरमा डेरी गरी बस्दै आएका हुन् ।
प्रेमको हत्याको आशंकामा उषासहित अर्का व्यक्ति २७ वर्षीय मदन रम्तेललाई पक्राउ गरिएको अधिकारीले लोकपथलाई जानकारी दिए ।
उनका अनुसार कोठामा विभत्स अवस्थामा प्रेमको शव भेटिएको थियो । ‘घटनाको प्रकृति हेर्दा सुरुमा मृतकलाई सिलौटेले हानेको देखिन्छ । उनी बेहोस भएर ढलेपछि दुई जना मिलेर घाँटीमा डोरी बाँधेर पछि चक्कुले प्रहार गरी हत्या गरेको देखिन्छ,’ उनले भने ।
उनका अनुसार हत्यामा संलग्न भनिएका मदन र उषा पहिला श्रीमान श्रीमती रहेको र अहिले भने उषाले प्रेमसँग विवाह गरेकी हुन् ।
‘प्रारम्भिक अनुसन्धानबाट हत्यामा संलग्न भनेर पक्राउ परेकी उषा र मदन पहिले श्रीमान श्रीमती रहेको र अहिले उषा प्रेमसँग बस्दै आएको देखिएको छ,’ उनले भने ।
उषा र प्रेम ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–९ माधवपुरका हुन् भने मदन भने मानेभन्ज्याङकै अर्को वडाका बासिन्दा हुन् ।
अहिले उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसनधान भइरहेको छ । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया