काठमाडौं । बंगलादेशका सेना प्रमुख वाकर–उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै सेनाले शासनसत्ता हातमा लिएको छ । लगत्तै पत्रकार सम्मेलन गरेका सेना प्रमुखले हिंसा अन्त्य गर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘हामी अन्तरिम सरकार बनाउने छौँ । यसले बंगलादेशका लागि काम गर्नेछ । उता, प्रधानमन्त्री शेख हसिनाको राजीनामाको माग गर्दै आन्दोलनमा सहभागी प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालय रहेको भवनमा आक्रमण गरेका छन् ।
ढाकामा आन्दोलनमा व्यापक सहभागितापछि प्रधानमन्त्री हसिना आफ्नो व्यक्तिगत सुरक्षालाई मध्यनजर राख्दै यसअघि नै प्रधानमन्त्रीको सरकारी निवास (गणभवन) छोडेर सुरक्षित स्थानमा गएकी थिइन् । ढाकास्थित एएफपीका संवाददाताका अनुसार प्रधानमन्त्रीको भवनमा हजारौँ बंगलादेशी प्रदर्शनकारीले आक्रमण गरेका छन् ।
बंगलादेशको च्यानल २४ ले राजधानीमा रहेको प्रधानमन्त्रीको सरकारी निवासमा भीड जम्मा भएको र क्यामेरामा हात हल्लाउँदै खुशीयाली मनाइरहेको तस्बिर प्रसारण गरेको छ । हिंसात्मक प्रदर्शनपछि देश छोडेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारतको त्रिपुरा राज्यको राजधानी अगरतलक गएको खबर आएको छ ।
आज राजधानी ढाकामा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा कम्तिमा ६ जनाको मृत्यु भएको छ । जात्राकारी र ढाका मेडिकल कलेज क्षेत्रमा भएको प्रदर्शनमा सो मृत्यु भएको हो । कर्फ्युको बेवास्ता गर्दै दसौँ हजार बंगलादेशीहरू सडकमा उत्रिएका छन् । विद्यार्थी आन्दोलनको क्रममा बंगलादेशमा अहिलेसम्म कम्तिमा ३०० जनाको मृत्यु भइसकेको छ । आन्दोलन दबाउन गएको महिना सरकारले सेनालाई बोलाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया