काठमाडौं । नेपाल जनप्रशासन संघले २०७९ सालको हेमबहादुर मल्ल सम्मान डा. भेषबहादुर थापालाई प्रदान गर्ने भएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै सम्मान विशेष समारोहबीच आगामी साउन २३ गते प्रदान गरिने जानकारी दिइएको छ । सम्मानसहित नगद राशी दुई लाख प्रदान गरिने छ । सम्मान वर्षेनी प्रदान गरिन्छ ।
पाँच दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक, प्रशासनिक, प्राक्षिक र कूटनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै संस्थागत विकास र अन्तर्राष्ट्रिय स्तरमा नेपालको राष्ट्रिय हित र योगदानको कदरस्वरूप हेमबहादुर मल्ल सम्मान २०७९ डा.भेषबहादुर थापालाई प्रदान गरिने भएको हो ।
सम्मान छनौटका लागि नेपाल सरकारका पूर्वसचिव एवं पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाको संयोजकत्वमा एक सम्मान छनौट समिति गठन गरिएको थियो । समितिमा नेपाल जनप्रशासन संघका तत्कालीन अध्यक्ष कृष्णहरि बास्कोटा, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, सचिव विन्दु विष्ट र पूर्व सचिव शिशिर कुमार ढुंगाना सदस्य रहेका थिए ।
अघिल्ला वर्षहरूमा हेमबहादुर मल्ल सम्मानबाट केदारभक माथेमा, चादनी जोशी, डा. भगवान कोइराला, डा. विमल कोइराला. महावीर पुन, स्व.अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा.सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरीशंकर लाल दास, सूर्यनाथ उपाध्याय, गोरक्ष बहादुर न्हुच्छे प्रधान र भानु आचार्य सम्मानीत भएका थिए ।
साल्ट ट्रेडि कर्पोरेशन लिमिटेडको सौजन्यमा सो संस्थाका प्रेसिडेन्ट एवं कुशल व्यवस्थापक स्व.हेमबहादुर मल्लको स्मृतिमा नेपाल जन–प्रशासन संघले २०७९ मा ‘हेमबहादुर मल्ल सम्मान’ स्थापना गरेको हो ।
को हुन् स्वर्गीय मल्ल ?
हेमबहादुर मल्लको जन्म विंस। १९९५ सालमा निसिभुजी बाग्लुङमा भएको थियो । उनले साल्ट ट्रेडिङ्ग कर्पोरेशनमा संस्थापक प्रमुख, कार्यकारी प्रमुख डाइरेक्टर, इन्चार्ज, प्रमुख सल्लाहकार र प्रेसिडेन्ट जस्ता पदमा रहेर सेवा गरेका थिए ।
उनी नेसनल फाइनान्स कम्पनी लिमिटेड र सुवर्ण फर्मास्युटिकल लिमिटेडको अध्यक्ष समेत रहेर काम गरेका थिए । साथै उनी गोरखकाली रबर उद्योग प्रालि, बुटवल धागो कारखाना लिमिटेड, मोरङ सुगर मिल्स लिमिटेड, नेपाल वनस्पती घ्यू उद्योग लिमिटेड, खाद्य उद्योग लिमिटेड र हितकारी गुठीको सन्चालक रहेका थिए । त्यसका साथै उनी नेपाल चेम्बर अफ कमर्श र नेपाल व्यवस्थापन संघको कार्यकारी सदस्य रहेका थिए । उनी गोरखा दक्षिणबाहु चौथो र शुभराज्यभिषेक पदकबाट विभुषित समेत भएका थिए ।
प्रशासनीक तथा व्यवस्थापकीय क्षेत्रमा लामो समय काम गरेका मल्लको मृत्यु २०५७ सालमा हृदयघातका कारण भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया