अभिनेता अरबाज खानको खुलासा : जुवाको लतमा पर्दा मलाइकासँग सम्बन्धविच्छेद भयो

लोकपथ
9k
Shares

मुम्बई । बलिउड अभिनेता अरबाज खानले आफ्नै बानीका कारण पत्नी मलाइका अरोरा खानसँग सम्बन्धविच्छेद गर्नु परेको खुलासा गरेका छन् । आफू सट्टाबाजी जुवाको नराम्रो लतमा फसेकाले मलाइका र आफ्नो सम्बन्ध बिग्रिएको यी अभिनेताले बताएका छन् । हुन पनि एक समय अरबाज खान जुवा र बाजीको लतमा फसेका थिए ।

जसका कारण उनको वैवाहिक जीवन ध्वस्त भएको थियो । तर पनि अरबाज खानले आफ्नो बानी सुधारेर आज करोडौंको सम्पत्तिका मालिक भएका छन् । अरबाजले आफैंले एक अन्तर्वार्तामा जुवा र बाजीको लतमा आफू नराम्ररी फसेको खुलाएका छन् । ‘म धेरै पैसा कमाउन चाहन्थेँ तर सबै गुमाएँ, आईपीएलमा करिब ५ वर्ष सट्टेबाजी गर्दा तीन वर्षभित्र २.७ करोड रुपैयाँ गुमाएको थिएँ,’ यति ठूलो रकम गुमाएकै कारण मलाइका आफूसँग अलग भएको यी अभिनेताले स्विकारेका छन् ।

सम्बन्धविच्छेदअघि अरबाजको ऋणको पैसा सम्बन्धित व्यक्तिहरुले मलाइकासँग माग्ने गर्थे । जसका कारण उनी दिक्क भएकी थिइन् । अरबाजको यो जुवा र बाजीका कारण मलाइकाले परिवारसँग निकै चिन्ता व्यक्त गरिन् । तर परिवारको कुरालाई समेत अरबाजले नसुनेपछि सन् २०१७ मा सम्बन्धविच्छेद गर्ने निर्णय गरेकी थिइन् । आफ्नो यो खराब बानीलाई सुधार्न भाइ सलमान खानले पनि निकै प्रयास गरेको यी अभिनेताले बताएका छन् । एक समय यस्तो पनि आयो कि यही बानीका कारण अरबाजले फिल्ममा पनि काम पाउन छाडेका थिए ।

यस अवधिमा सलमान खानले अरबाज खानको हेरचाह गरे र उनलाई आर्थिक रूपमा धेरै सहयोग गरे । कोभिड माहामारीपछि सबैतिर मन्दी छाएपछि अरबाज यो खराब बानीबाट सुध्रिएका रहेछन् । अरबाजले केही वर्षयताबाट चलचित्र निर्माण र विभिन्न कार्यक्रमहरु गरिरहेका छन् । उनी अभिनेताका रुपमा कमै देखिने गरेका छन् । २०२४ मा शुरा खानसँग विवाह गरेपछि उनी अहिले निकै खुसी छन् । अबराज अहिले करोडौं कमाउँछन् । जीक्यूको रिपोर्टका अनुसार यी अभिनेता ५०० करोडको सम्पत्तिका मालिक हुन् । चलचित्रमा काम गर्नुका साथै निर्माण गरेर पनि राम्रै आम्दानी गर्छन् । साथै उनले एउटा चलचित्रका लागि १० देखि १५ करोड भारु लिन्छन् । उनले विज्ञापनबाट पनि राम्रो आम्दानी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?