बंगलादेशको राजनीतिमा हसिनाको पुनरुदय होला ?

लोकपथ
749
Shares

काठमाडौं । अहिले बंगलादेशमा भड्किएको आन्दोलन र त्यहाँको राजनीतिले विश्वको ध्यान खिचेको छ । प्रधानमन्त्री शेख हसिना देश छाडेर भारतको शरणमा पुगेपछि बंगलादेश नयाँ ऐतिहासिक मोडमा पुगेको छ ।

निजामती सेवामा कोटा सिस्टम खारेजीको मागसहित सयौँ जनाको ज्यान जाने गरी भएको आन्दोलन र प्रदर्शन । आन्दोलनको राप र तापले हसिनाको सत्तामाथि ‘ब्रेक’ लाग्न पुग्यो । जसको कारण उनको अब राजनीतिमा पुनरुदय हुन्छ या हुँदैन त्यसको चौतर्फी चर्चा भइरहेको छ ।

विद्यार्थीहरुले नेतृत्व गरेको आन्दोलनका कारण देश छाडेकी हसिना राजनीतिमा नफर्किने संकेत देखिएको छ ।
सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी हसिना २० वर्ष लामो सत्ता यात्रापछि अब देशको राजनीतिमा नफर्किने निष्कर्षमा पुगेको उनका सहयोगीहरुले बताएका छन् ।

राजनीतिक सल्लाहकारको भूमिकामा रहेका हसिनाका छोरा सजीब अहमद वाजेद जोयले परिवारको आग्रहमा हसिनाले आफ्नो सुरक्षाका लागि देश छोडेको बताउँदै राजनीतिमा पनि नआउने संकेत गरेका छन् । बीबीसी न्यूज आवरसँगको कुराकानीमा उनले भने, ‘आफूले कडा परिश्रम गरेको भए पनि अल्पमत विरुद्धमा उठेको देखेर हसिना दुःखित हुनुहुन्छ ।’

बंगलादेशको कापलट गर्न आफूहरुले धेरै खेपेको उल्लेख गर्दै उनले अब राजनीतिक फर्किने सम्भावना कमजोर बनेको उल्लेख गरेका छन् ।

दक्षिण एशियाली देशको आर्थिक प्रगतिको रेखदेख गर्ने श्रेय पाएकी हसिनाले प्रजातन्त्रको प्रतीकका रुपमा आफ्नो राजनीतिक जीवन सुरु गरेकी थिइन् ।

लोकतन्त्रको हिमायती मानिएकी उनलाई पछिल्लो समय निरंकुश लोकतन्त्रवादी भन्ने गरिन्थ्यो । राजधानी ढाकामा रहेको सरकारी निवासमा हजारौँ प्रदर्शनकारीले आक्रमण गरेपछि ७६ वर्षीया हसिना सोमबार हेलिकोप्टरमार्फत भारततर्फ भागेकी थिइन् । बंगलादेशको सबैभन्दा लामो समय शासन गर्ने प्रधानमन्त्रीको शासनकालको अप्रत्याशित अन्त्य भएको छ  । बंगलादेशमा सेनाले सत्ता हातमा लिइसकेको छ ।

हसिना भारतको शरणमा पुगेसँगै बंगलादेशका सेना प्रमुख वाकर–उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् ।

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै सेनाले शासनसत्ता हातमा लिएको छ । लगत्तै पत्रकार सम्मेलन गरेका सेना प्रमुखले हिंसा अन्त्य गर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘हामी अन्तरिम सरकार बनाउने छौँ । यसले बंगलादेशका लागि काम गर्नेछ ।’

हसिना भागेपछि आन्दोलन सफल भएको मानिरहेका आन्दोलनरत विद्यार्थीहरुले प्रधानमन्त्री कार्यालय कब्जा गरेका छन् । त्यहाँ रहेका सामग्रीहरु समेत उनीहरुले लगेको तस्बिरहरु सार्वजनिक भइरहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?