सिमलताल बस दुर्घटना : कार्यदलले बुझायो प्रतिवेदन, यी हुन् घटनाका कारण

लोकपथ
427
Shares

काठमाडौं । चितवनको सिमलतालमा भएको बस दुर्घटनाको अध्ययनका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको छ ।

आज गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा सहसचिव छविलाल रिजालको नेतृत्वमा गठित कार्यदलले अध्ययन प्रतिवेदन बुझाएको हो ।

गृहमन्त्री रमेश लेखकले कार्यदलले बुझाएको प्रतिवेदन पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे । कार्यदलले दिएको सुझाव सम्बन्धित निकायलाई पठाउने र त्यसको कार्यान्वयन गरिने बताए ।

उनले भने, ‘त्रिशूलीमा भएको बस दुर्घटनाबारे छलफल गर्न बनेको समितिको प्रतिवेदन प्राप्त भएको छ । प्रतिवेदनलाई पनि अध्ययन गरेर यसमा उल्लेख भएका जतिपनि सुझावहरु छन् तिनीहरुलाई सम्बन्धित निकायलाई पठाउने र त्यसको कार्यान्वयन गराइने छ । मन्त्रालयले गर्नुपर्ने सुझावहरुलाई पनि कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्न चहान्छु ।’

यस्तै, उनले सडक दुर्घटना एकदमै संवेदशील विषय भएको भन्दै यस्ता किसिमका दुर्घटनाहरु न्यूनिकरण गर्न सरकार सबै उपायहरु अबलम्बन गर्न तयार रहेको पनि बताए ।

उनले भने, ‘सडक दुर्घटना एकदमै संवेदनशील विषय हो । जन र धन दुवैको क्षति हुने गरेको छ । घटनाबारे अध्ययन समितिले बनाएको प्रतिवेदन प्राप्त भएको छ । सडक दुर्घटना रोक्नुपर्छ । यसका लागि उचित उपायहरु अबलम्बन गर्नुपर्छ भनेर पहिलो पटक समिति नै बनाएर अध्ययन गरेका छौँ । यस्ता किसिमका दुर्घटनाहरु न्यूनिकरण गर्न आवश्यक छ । घटना नहुने सुनिश्चितता गर्न आवश्यक छ । यसका लागि सरकारले सबै उपायहरु अबलम्बन गर्ने छ ।’

अध्ययन प्रतिवेदनले बस दुर्घटनाको विभिन्न कारण देखाएको छ । जसमध्ये सडक निर्माण गर्दा कट एण्ड फिल एप्रोचमा काम नगरेको कारण कटिङबाट मात्र सडक बनाउँदा अत्यधिक निस्किएको माटो छेउमा फ्याँकिएको र टेवा पर्खाल नहुँदा ड्रेब्रिज खोल्सा हुँदै बगेको उल्लेख गरेको छ ।

प्रतिवेदनमा भनिएको छ,‘सडक बनाउँदा कट एण्ड फिल एप्रोचमा काम नगरेर कटिङबाट मात्र सडक बनाउँदा अत्यधिक निस्केको माटो छेउमा फ्याँकिएको र टेवा पर्खाल नहुँदा डेब्रिज सिन्दुरे खोल्सा हुँदै बगेको देखिन्छ ।’

त्यसैगरी एकीकृत सूचना प्रणाली नहुँदा सवारी चालकले सडकको अवस्था पूर्वानुमान गर्न नसकेका कारण पनि सवारी दुर्घटना भएको उल्लेख गरिएको छ ।

‘एकीकृत सूचना प्रणाली नहुँदा सवारी चालकले सडकको अवस्था पूर्वानुमान नगरेको र सुरक्षाकर्मीले पनि बस रोक्न आवश्यक ठानेनन्,’ प्रतिवेदनमा उल्लेख रहेको छ ।

गत असार २८ गते बिहान दुई वटा बस त्रिशूली नदीमा बेपत्ता भएको छ । त्यसमा सवार ६५ जनामध्ये ३ जनाले पौडिएर ज्यान जोगाएका थिए, त्यसमा सवार मध्ये २५ जनाको शव फेला परेको छ । तर अन्यको शव भेटिन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?