काठमाडौं । मधेश प्रदेशमा एकैपटक ५ राज्यमन्त्री नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रिपरिषद् पुनःगठन गरेकी छिन् ।
प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम आज मन्त्रिपरिषद् पुनःगठन गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार पुनःगठित मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट दुई र नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी एक/एक जना राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।
कांग्रेसका तर्फबाट रेखा ठाकुर भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र निलमकुमारी रजक ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्रीमा नियुक्त भएकी हुन् ।
त्यसैगरी एमालेका मोहम्मद जैद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री, लोसपाका रामबाबु यादव शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतका शम्भुकुमार साह उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया