काठमाडौं । चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म नेवार समुदायले एक महिनासम्म मनाउने गुँला पर्व सुरू भएको छ ।
विशेष गरी बौद्ध समुदायले मनाइने यो पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्धको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गर्ने गरिन्छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौँ र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौँ महिना भन्ने बुझिन्छ । आज बिहानबाट विभिन्न स्थानीय बौद्ध चैत्यहरूको परिक्रमा सुरू भएको पर्व भदौ १९ गते सम्पन्न हुनेछ ।
बौद्ध समुदायबाहेक हिन्दू धर्मावलम्वी नेवार समुदायले पनि पछिल्ला वर्षहरूमा यो पर्व मनाउन थालेको स्थानीय संस्कृतकर्मी रामशेखर शाक्यले बताए । हरेक दिन दुईदेखि तीन सय धर्मावलम्बीको सहभागिता रहने गुँला बाजाले प्रत्येक बिहान नगरका विभिन्न मठमन्दिर, बौद्ध विहार र चैत्य परिक्रमा गरेर विशेष पूजाआजाका साथ मनाउने उनले जानकारी दिए ।
एक महिनाको अवधिमा नागपञ्चमीका दिन चाँगुनारायण मन्दिरमा, गाईजात्राका दिन भक्तपुर सहरका विभिन्न मठमन्दिर, देवालय र विहार परिक्रमा गर्ने प्रचलन छ । यस पर्वमा विशेष गरी भक्तपुरका बौद्ध चैत्यहरू, स्वयम्भू महाचैत्य, बौद्ध चैत्य, स्थानीय बहाः, बहीलगायत उपत्यकाका विभिन्न चैत्यस्थलको दैनिक परिक्रमा गरिन्छ । यस पर्वमा राँगा, भेडाको सिङबाट बनाइएको न्याकुँ, दाफा, धाः, बाँसुरी, धिमे, भुस्यालगायत नौ वटा बाजा बजाएर परिक्रमा गर्ने प्रचलन छ ।
काठमाडौँवासीले स्वयम्भू महाचैत्य दर्शन गरेपछि शोभा भगवती हुँदै विजयेश्वरी र त्यहाँबाट केलटोलस्थित सेतो मत्स्येन्द्रनाथ दर्शन गर्ने, ललितपुरवासीले पाटन र चोभारस्थित मत्स्येन्द्रनाथ मन्दिर, मन्जुश्री, गोल्डेन टेम्पललगायत पाटनका विभिन्न विहार–महाविहारमा पूजा गर्ने गर्दछन् । भक्तपुर र मध्यपुरथिमिमा पनि यो पर्व मनाउने गरिन्छ ।
धार्मिक दृष्टिकोणले यस पर्वसँगै नागपञ्चमी, पञ्चदान, रक्षाबन्धन जनैपूर्णिमा, गाईजात्रा, मतःयाः, देवपत्तनमा खड्गजात्रा, कृष्णाष्टमी, बाबुको मुख हेर्ने पर्व आउँछन् ।
उपत्यकाबासीले गाईजात्रा सापारुका दिन ललितपुरस्थित कुम्भेश्वर मन्दिर, काठमाडौँको स्वयम्भू, शोभा भगवती, गणबहालको सेतो मच्छिन्द्र्रनाथ र अन्तिम दिन ललितपुरको बुङ्मती, खोकना, कीर्तिपुरको जलविनायक र चोभारको आदित्यनाथ मन्दिरमा गएर विशेष पूजाआजा गरी सम्पन्न गर्ने गुरू महाबीर बज्राचार्यले बताए ।
कतिपय ठाउँमा गुँला पर्वमा बजाउने बाजागाजामा आर्थिक तथा जनशक्ति अभावका कारण कपाली समुदायले बजाउने म्वाली बाजाबिना नै गुँला पर्व मनाउने गरिएको छ । गुरू बज्राचार्य यस पर्वमा एक महिनासम्म दशशीलको पालना गर्नुपर्ने बताए । त्यो नसक्नेले अष्टशील र त्यो पनि नसक्नेले पञ्चशील पालना गर्नुपर्ने भन्दै यस अवधिमा कम्तीमा पनि प्राणी हिंसा नगर्ने, कसैले नदिइ केही पनि नलिने, नराम्रो काम नगर्ने, झुटो नबोल्ने, लागुपदार्थ एवं मद्यपान नगर्ने र परस्त्री सम्पर्क नगर्नु राम्रो हुने उनको भनाइ छ ।
यस्तै, सकेसम्म अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने, समयमै भोजन गर्ने, आभूषण ग्रहण नगर्ने र ब्रह्मचर्यमा बस्ने सके दशशील नै पालना हुने मान्यता छ । स्थानीय महिलाहरूले चैतत्य तथा नेवारी पोशाक लगाएर परिक्रमा गर्ने प्रचलन छ । स्थानीयले बौद्ध चैत्यसँगै इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवी देवताको परिक्रमा गर्ने र पर्व अवधिभर माछामासु, जाँडरक्सी, गुन्द्रुक खान नहुने नियम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया