बंगलादेशमा बन्यो नयाँ सरकार, नोबेल पुरस्कार विजेता युनुस बने अन्तरिम सरकार प्रमुख

लोकपथ
1.3k
Shares

काठमाडौं । नोबेल पुरस्कार विजेता मोहम्मद युनुस मंगलबार राति बंगलादेशको अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका छन् । राष्ट्रपति मोहम्मद शहाबुद्दिनले प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि संसद विघटन गरेको केही घण्टापछि युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेका हुन् ।

आरक्षणविरोधी आन्दोलनका अगुवा विद्यार्थी नेताहरू र राष्ट्रपति मुहम्मद शहाबुद्दिनबीचको बैठकले युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय हो । बैठकमा तीनवटै सशस्त्र सुरक्षा बलका प्रमुखहरूको समेत उपस्थिति थियो । राष्ट्रपति मोहम्मद शहाबुद्दिनले विवादास्पद आम निर्वाचनमार्फत गठन भएको १२ औँ संसद् विघटन मंगलबार दिउँसो विघटन गरेका थिए । राष्ट्रपतिका प्रेस सचिव जोनाल आबेदिनले अन्तरिम सरकारका बाँकी सदस्यबारे राजनीतिक दल र अन्य सरोकारवालासँगको छलफलपछि टंगो लाग्ने बताए ।

यसअघि युनुसको कार्यालयले आन्दोलनरत विद्यार्थीले अन्तरिम सरकारको नेतृत्व गर्ने प्रस्ताव स्वीकार गरेको पुष्टि गरेको थियो । विद्यार्थीहरूले नोबल पुरस्कार विजेता मुहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुख सल्लाहकार नियुक्त गरिनुपर्ने माग पनि अघि सारेका थिए । ८४ वर्षीय युनुस हाल उपचारका लागि फ्रान्सको राजधानी पेरिसमा छन्  । उनी सामान्य चिकित्सकीय प्रक्रिया पूरा गरेर स्वदेश फर्किने भएका छन् । उनी अर्थशास्त्री हुन् ।

उनले बंगलादेशमा ग्रामीण बैंक स्थापना गर्नुका साथै लघुवित्तको अवधारणा सुरु गरेका थिए । उनको अवधारणाले दसौं लाख मानिसलाई गरिबीबाट निस्किन सहयोग पुगेको बताइन्छ । उक्त कामका लागि युनुसलाई सन् २००६ मा नोबल शान्ति पुरस्कार दिइएको थियो । युनुसलाई गत जुनमा बंगलादेशको एक अदालतले आर्थिक अपचलन मुद्दामा दोषी ठहर गरेको थियो । यद्यपि युनुसले उक्त आरोप अस्वीकार गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?