हमासले चुन्यो इजरायलमाथिको आक्रमणको ‘मास्टर माइन्ड’ सिन्वरलाई मुख्य नेता

लोकपथ
553
Shares

काठमाडौं । इस्माइल हानियेको हत्या भएको एक सातापछि हमासले उनको ठाउँमा ६२ वर्षीय याह्या सिन्वरलाई चुनेको छ । कतारमा भएको लामो छलफलपछि सिन्वर नेता चुनिएको अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेसले जनाएको छ ।

हमासका जीवित दुई शीर्ष नेतामध्येबाट सिन्वरलाई नेता चुनिएको हो । हमासले अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरेयता इजरायलले हमासका शीर्षमध्येका कमान्डर रफा सलामा, मोहम्मद देइफ, इस्माइल हानियेसहित चार नेताहरूलाई मारिसकेको दाबी गरेको छ । हानियेको हत्या भएको भोलिपल्टै इजरायलले हमासका सैन्य कमान्डर मोहम्मद देइफलाई १९ दिनअघि मारेको बताएको थियो ।

नवनियुक्त हमास नेता सिन्वर यसअघि सन् २०१७ मा हमासको गाजा प्रमुख बनेका थिए । अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेसका अनुसार, अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणको ‘मास्टरमाइण्ड’ सिन्वर नै थिए । त्यतिबेला सिन्वर र अर्का नेता मोहम्मद देइफको अगुवाईमा इजरायलमाथि आक्रमण गरेको बताइन्छ । । आक्रमणको जानकारी त्यतिबेला उनीहरुले हानियेलाई समेत नगराएको बताइएको छ ।

उनी सन १९६२ मा गाजाको शरणार्थी क्याम्पमा जन्मिएका थिए । अमेरिकाले उनलाई अन्तर्राष्ट्रिय आतंकवादीको सूचीमा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?