काठमाडौं । आज बुधबार दिउँसो नुवाकोटस्थित शिवपुरी गुर्जे भञ्ज्याङ नजिकै हेलिकप्टर दुर्घटनामा परेर ज्यान गुमाएका एयर डाइनेष्टिका पाइलट अरुण मल्ल यसअघि पनि हेलिकप्टर दुर्घटनामा परेका व्यक्ति हुन् ।
२०७० साल असोज १० गते काठमाडौंबाट सोलुखुम्बुको लागि उडेको एयर डाइनेष्टिको ९ एन–एइएक्स (एएस–३५०) हेलिकप्टर सोलुखुम्बुको लुक्ला विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा पर्दा उनी पनि त्यही हेलिकप्टरमा थिए ।
त्यसबेला हेलिप्याडमा अवतरणको क्रममा विमान पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा परी दुई जना घाइते भएका थिए । दुर्घटनामा हेलिकप्टरका पाइलट उनै अरुण मल्ल र अर्का यात्रु सोनाम छिरिङ शेर्पा भने सकुशल भेटिएका थिए ।
त्यतिबेला सकुशल भेटिएका पाइलट मल्ल आज भने एयर डाइनेष्टिको कल साइन ९एन–एजेडी हेलिकप्टर लिएर रसुवाको स्याफ्रुबेसी जाँदै थिए । हेलिकप्टरमा चार जना चिनिया नागरिक पनि थिए । उनीसँगै ती चार जनाको पनि निधन भएको छ ।
आज दिउँसो १ बजेर ५४ मिनेटमा त्रिभुवन विमानस्थलबाट उडेको सो हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानबाट सम्पर्क टुटेको थियो । हेलिकोप्टरमा चार जना चिनिया नागरिक जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) रहेका थिए ।
यो हेलिकप्टर काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको थियो भने उडेको तीन मिनेटमा सम्पर्कविहीन भएको थियो ।
एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितका अनुसार, ४ जना चिनियालाई स्याफ्रुबेंसी छाडेर फेरि त्यहाँबाट विदेशी नै लिएर काठमाडौं आउने गरी सो हेलिकप्टर उडेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया