काठमाडौं । थाइल्याण्डको संवैधानिक अदालतले त्यहाँको सबैभन्दा ठूलो दल ‘मुभ फरवार्ड पार्टी’ लाई भंग गर्न आदेश दिएको छ । साथै वर्तमान लपार्टी प्रमुख चौथावत तुलाथन र पूर्वनेता पिटा लिमजारोनरातसहित पार्टीको प्रमुख कार्यकारी समितिलाई अदालतले १० वर्षसम्म राजनीतिक गतिविधि गर्न प्रतिबन्ध लगाएको छ ।
संविधान संशोधन प्रस्ताव गरेर संवैधानिक व्यवस्था उल्लंघन गरेको भन्दै अदालतले प्रगतिशील भनिएको सो पार्टीलाई भंग गर्ने आदेश दिएको हो । सो पार्टीले केही दिनअघि राज परिवारसँग सम्बन्धित कानुनमा संशोधनको प्रस्ताव गरेको थियो ।
थाइल्याण्डको संवैधानिक अदालतले भनेको छ, ‘मुभ फरवार्ड पार्टीले देशको राज परिवारसँग सम्बन्धित कानुनमा संशोधनको प्रस्ताव गरेर संविधान उल्लंघन गरेको छ । कानुनमा संशोधन गरेर संवैधानिक राजतन्त्रलाई फ्याँक्ने प्रयास गरेको ठहर अदालतको छ ।’
सो पार्टीले सन् २०२३ को राष्ट्रिय निर्वाचनमा जित हासिल गरेको भएपनि उसलाई सरकारको नेतृत्व गर्न भने दिइएन । सो पार्टी अहिले त्यहाँको प्रमुख प्रतिपक्षी दल हो । सो पार्टीले देशको संविधान र कानुनमा संशोधन आवश्यक रहेको भन्दै अभियान चलाउँदै आएको छ ।
थाइल्याण्डमा कुनै पार्टी भंग भएमा सो पार्टीका सांसदहरुलाई ६० दिनभित्र अरु कुनै दल रोज्नुपर्ने मौका दिइन्छ । अन्यथा उनीहरुको सांसद पद गुम्छ । थाइल्याण्डमा राजतन्त्रको आलोचना गर्ने र त्यससँग सम्बन्धित संवैधानिक व्यवस्थाको उल्लंघन गर्नेहरुलाई १५ वर्षसम्म सजायँ हुन सक्ने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया