मन्त्री पाण्डे भन्छन्- नेपाली आकाश असुरक्षित भयो जाँचबुझ आयोग गठन गरौँ

लोकपथ
140
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले हवाई दुर्घटनाको छानबिन गर्न बनेका आयोगहरुले प्रतिवेदन बुझाउन ढिलो गर्ने, बुझाएका प्रतिवेदन समेत कार्यान्वयनमा नआएका कारण नेपाली आकाश असुरक्षित बनेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध एवम पर्यटन समितिको बैठकमा मन्त्री पाण्डेले बुधबार भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाबारे पनि जानकारी गराए । मन्त्री पाण्डेले दुर्घटना हुनेवित्तिकै छानबिन समिति बनाएर मात्र दुर्घटनामा न्यूनीकरण गर्न नसकिने उल्लेख गर्दै नेपालको समग्र हवाई प्रक्रियाको अध्ययन गर्न जाँचबुझ आयोग गठन गर्नुपर्ने धारणा राखे ।

उनले भने, ‘अब हामीले सधैँ छानबिन आयोग, जाँचबुझ आयोग बनाइरहने, आयोले प्रतिवेदन दिन ढिलाई गर्ने र आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनमा नजाने हो भने नेपाली आकाश थप जटिलतामा फस्दै गयो भनेर बुझे हुन्छ । एअर डाइनेस्टी हेलिकप्टर दुर्घटनाबारे मन्त्रिपरिषद्मा पनि लामो छलफल भयो अब नेपालको समग्र हवाई सुरक्षाको बारेमा अध्ययन गर्नुपर्दछ । सिस्टममाथि नै अध्ययन गर्नुपर्ने जरुरी देखियो, ’ उनले अगाडि भने,‘समग्र अध्ययनका लागि मन्त्रालयले प्रस्ताव गर्नुपर्छ, मन्त्रिपरिषद्को बैठकमा छलफल हुनुपर्छ ।’

नेपाली आकाश असरक्षित बन्दै जानुको कारण कानुनी, नीतिगत, संरचनागत के समस्या हो त्यसको अध्ययनका लागि प्राविधिक र जनशक्ति लगायतका विषयमा अध्ययन गर्न समिति गठन गर्नका लागि समेत प्रधानमन्त्रीज्यूले निर्देशन दिएको उल्लेख गर्दै सोही अनुसार अघि बढ्ने उनले बताए ।

नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा बुधबार एयर डाइनोस्टीको हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चारजना चिनियाँ नागरिकको मृत्यु भएको थियो । मुलुकको उड्डयन क्षेत्रले भोग्नुपरेको नियति र हवाई क्षेत्रका समस्याको समाधान खोज्न सबैको साथ, सहयोग र सुझावको अपेक्षा गर्दै मन्त्रालयले तत्काल र दीर्घकालमा चाल्नुपर्ने कदमबारे सुझाव दिन मन्त्री पाण्डेले आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?