काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाट २१ करोड मूल्य बराबरको लागूऔषध कोकिनसहित एक जना विदेशी नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ल्याटभियन नागरिक इभार्स भाल्टर्स रहेका छन् ।
साउन २३ गते बुधबार कतार एयरवेजको उडानबाट काठमाडौं आएका ५१ वर्षीय इभार्स भाल्टर्सले ह्याण्डक्यारी ब्यागमा लुकाएर ल्याएको ६ किलो २४ ग्राम कोकिन बरामद गरिएको थियो । उक्त कोकिनको बजार मूल्य हाल २१ करोड ८ लाख रहेको ब्युरोले जनाएको छ ।
ब्युरोका अनुसार आरोपितले प्लास्टिक कोटेड भएको क्याप्सुलभित्र उक्त परिमाणको लागू औषध लुकाएर ल्याएका थिए ।
ब्युरोका अनुसार ५१ वर्षीय भाल्टर्स ल्याटभियाबाट फ्रान्सको पेरिस हुँदै दोहाबाट काठमाडौं आएको पाइएको छ ।
पक्राउ परेका व्यक्ति ल्याटभियाबाट अगस्ट २ मा फ्रान्सको पेरिस आएका थिए । पेरिसमा ३ दिन बसेर त्यहाँबाट कतारको दोहा हुँदै कतार एयरवेजको उडानबाट काठमाडौं उत्रिएका थिए ।
आरोपितले बयानका क्रममा उक्त लागू औषध ल्याटभियाबाट नै ल्याएको नभई दोहामा अफ्रिकन मुलुकका व्यक्तिले दिएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया