काठमाडौं । सशस्त्र प्रहरीको मधेश प्रदेशस्थित नम्बर २ बाहिनीका बाहिनीपति (डीआईजी) कालिदास धौबजीको व्यवहारबाट अहिले त्यस क्षेत्रका व्यापारी र सशस्त्र प्रहरीका गणपति, गुल्मपति र बेसपतिहरु आजित बनेका छन् ।
डीआईजी धौबजीले जथाभावी रुपमा रकम माग्न थालेपछि व्यापारी र सशस्त्र प्रहरीकै अधिकृतहरु आजित बनेका हुन् । उनले संगठनविपरीत काम गर्दा पनि सशस्त्र प्रहरी मुख्यालयले उनीमाथि कुनै कारबाही गर्न सकेको छैन ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल पनि पाँच वर्षअघि यहीँको बाहिनीपति थिए ।
त्यसबेला उनले लिएको भ्रष्टाचारमा ‘शून्य सहनशिलताको नीतिले’ वाहवाही कमाएर फर्केका थिए । तर, अहिले उनी नै संगठन प्रमुख हुँदा उनी यसअघि बसेको बाहिनी भने बदनाम बन्दै गएको छ ।
डीआईजी धौबजी मधेश प्रदेशको बाहिनीपतिमा सरुवा भएको खबरले त्यतिखेर नै त्यहाँका व्यापारी र सशस्त्र प्रहरीका अधिकृतहरुमा बेचैनी बढेको थियो । सशस्त्र प्रहरीको गण, प्रस्तावित गुल्म, बीओपीदेखि बेशसम्मका प्रमुखहरुमा बेचैनी बढ्नुको मुख्य कारण भने उनको भ्रष्ट छबी थियो ।
बाहिनीपति भएर आएपछि पैसा मागेर दिनसक्ने दुःखले त्यसबेला नै उनीहरुमा छटपटी बढेको थियो ।
रकम उठाउनका लागि बाहिनीपति धौबजीले अहिले व्यापकरुपमा ‘घुमुवा’ परिचालन गरेका छन् । यसका लागि उनले कोर्ट मास्टर, सञ्चारमा कार्यरतदेखि परिचरलाई समेत घुमुवाको रूपमा परिचालन गरेका छन् ।
स्मरणीय के छ भने, सशस्त्र प्रहरी मुख्यालयले मात्रै नभएर गृह मन्त्रालयसम्मले घुमुवा राख्न नपाउने नीतिगत निर्णय गरेर मातहत कार्यालयलाई परिपत्र गरेकोसमेत लामै समय बितिसकेको छ । तर, यसलाईसमेत उल्लंघन गर्दै बाहिनीपति धौबजीले सशस्त्र प्रहरी बललाई नै बदनाम गर्ने गरी काम गरिरहेका छन् ।
विशेषगरी उनले रकम संकलनको जिम्मा सशस्त्र प्रहरी सहायक निरीक्षक सुरेश महतो र सशस्त्र प्रहरी सहायक हबल्दार सुरेश यादवलाई दिएका छन् । यादव यसअघि पाँच वर्ष घुमुवा बसिसकेका व्यक्ति हुन् । उनको दरबन्दी २ नम्बर बाहिनी नै हो । २ नम्बर बाहिनीअन्तर्गत मधेश प्रदेशका आठ वटा जिल्ला सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट पर्छ । यी जिल्लाका तस्कर, व्यापारी र सशस्त्र प्रहरीकै जिम्मेवार अधिकृतहरुसँग ‘बाहिनी निवास’ बनाउने भन्दै उनले रकम माग्ने गरेका छन् ।
उनले सशस्त्रको गण, प्रस्तावित गुल्म, बीओपीदेखि बेशसम्मका प्रमुखलाई भेटेर रकम माग्ने गरेको सशस्त्रकै जिम्मेवार अधिकृतहरु बताउँछन् ।
यादव यसअघि पनि महोत्तरीमा हुँदा घुमुवा बसिसकेका व्यक्ति हुन् । घुमुवा बसिसकेकाले धेरै तस्कर र व्यापारीलाई व्यक्तिगत रूपमा नै चिन्ने र पुराना घुमुवासँग पनि राम्रो चिनजान भएकाले बाहिनीपति धौबजीले उनलाई परिचालन गरेका हुन् ।
काठमाडौं कोटेश्वर घर भएका उनले अवैधरुपमा आर्जन गरेको रकमबाट बारास्थित सशस्त्र प्रहरी गणसँगै दुई बिघा, धनुषाको नकटाजीमा एक बिघा, खोटाङको सशस्त्र प्रहरी गुल्मसँगै एक बिघा जग्गा जोडेका छन् । नीलबाराही गणको गणपति हुँदा उनले एपीएफ अस्पताल बलम्बुनजिक दुई रोपनी जग्गा किनेका थिए । उनले सशस्त्र प्रहरी बलमा आएपछि २० करोड रुपैयाँभन्दा बढी रुपैयाँ अवैध रुपमा कमाएको समाचार स्रोतको भनाइ छ ।
डीआईजीमा बढुवापछि उनी सशस्त्र प्रहरीको मातातीर्थस्थित एकेडेमीमा पनि कार्यरत थिए । त्यसपछि पोखरास्थित नम्बर ४ बाहिनीको बाहिनीपतिमा सरुवा भएका उनी सो बाहिनीबाट नम्बर २ बाहिनीमा आएका हुन् ।
४ नम्बर बाहिनीको बाहिनीपति हुँदा गणपति र गुल्मपतिसँग रकम उठाएको उजुरी परेपछि सशस्त्र प्रहरी मुख्यालयले उनीमाथि स्पष्टीकरण पनि सोधेको थियो ।
उनीमाथि रासनको पैसा खान बाहिनीमा कार्यरत आधारभन्दा बढी सशस्त्र प्रहरी कर्मचारीहरु छाड्ने गरेको आरोप पनि छ ।
डीआईजी धौबजी २०५२ साल असोज २६ गते नेपाल प्रहरीमा प्राविधिक नायब निरीक्षक (सई) मा प्रवेश गरेका व्यक्ति हुन् । प्राविधिक पृष्ठभूमि भएकाले उनीमा कमान्ड कन्ट्रोल पनि देखिँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया