टुकुचामाथिको सडक भासिएको विषयमा के भन्छन् बालेन ?

लोकपथ
1.7k
Shares

काठमाडौं । काठमाडौं प्लाजा नजिकै टुकुचामाथिको सडक भासिएको छ ।

दरबारमार्गबाट काठमाडौं प्लाजा अर्थात् काठमाडौं महानगरपालिकाको कार्यालय अघि सडक भासिँदा अहिले त्यहाँको आवागमन समेत बन्द भएको छ ।

टुकुचाको उत्खननमा जोड दिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नदीमाथि बाटो बनाउनाले आजको अवस्था सिर्जना भएको बताए ।

आफ्नै कार्यालय अघि टुकुचामाथिको सडक भासिएपछि यसअघि आफूले टुकुचाको उत्खनन गरेको कामबारे स्मरण गर्दै उनले सामाजिक सञ्जालमा लेख्दै भने, ‘यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन ।’

काठमाडौं महानगरको नेतृत्वमा बालेन आइसकेपछि उनले विभिन्न स्थानमा छोपिएका टुकुचाको उत्खननमा जोड दिएका थिए । तर अदालतको आदेशपछि उक्त काम अहिले रोकिएको छ । टुकुचाको क्षेत्राधिकारभित्र पर्ने घर तथा भवनहरुको लगत कट्टा गर्नका लागि सम्बन्धित मन्त्रालयमा पठाइएको समेत जानकारी दिएका छन् । त्यस्तै सम्बन्धित व्यक्तिहरुलाई मुवाब्जा दिने काम सम्पन्न भएपछि पुनः टुकुचा उत्खननको काम गरिने बताए ।

‘काठमाडौं महानगरले केहि समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम शुरू गरेका थियौँ । अदालती कारणले केहि रोकिन परेको थियो । अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका छौँ । सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्छ । यस पश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउनेछ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?