काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा हालसम्म पाँच स्थानीयले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन् । जन्मदेखि २३ महिनासम्म तथा नियमित खोप तालिकामा छुटेका सम्पूर्ण बालबालिकालाई खोप लगाईसकेपछि ती तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन् ।
काभ्रेमा छ नगरपालिका र सात गाउँपालिका छन् । हालसम्म तीन नगर र दुई गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन् । शुक्रबार भुम्लु गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी अध्यक्ष प्रेमबहादुर भुजेल, जिल्ला समन्वय समिति उपप्रमुख रिमबहादुर तामाङ, गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ, जनस्वास्थ्य कार्यालय प्रमुख रागीश्री कक्षपती श्रेष्ठलगायत सरोकारवालाको उपस्थितिमा घोषणा गरिएको हो । गाउँपालिकाभित्रका जन्मदेखि २३ महिनासम्म करिब चार सय बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको स्वास्थ्य शाखा संयोजक सुदर्शन भट्टराईले जानकारी दिए ।
यस्तै पनौती नगरलाई साउन पहिलोसाता पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा गरिएको थियो । नगरलाई १६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप दिलाई पूर्णखोप दिलाएको सुनिश्चितता प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।
काभ्रेको पनौतीसहित पाँच स्थानीय तहले आफ्नो पालिका पूर्णखाप सुनिश्चित घोषणा गरेका हुन् । यसअघि धुलिखेल नगर, नमोबुद्ध नगर र रोशी गाउँपालिकाले पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा गरेका हुन् । जिल्लाका अन्य बाँकी आठ स्थानीय तह घोषणाको तयारीमा जुटिरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया